माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूद्वारा गृहमन्त्रीको राजीनामा माग, आधा घण्टाको लागि बैठक स्थगित

माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूद्वारा गृहमन्त्रीको राजीनामा माग, आधा घण्टाको लागि बैठक स्थगित
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै हो-हल्ला गरेपछि संसद बैठक आधा घण्टालाई स्थगित भयो।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरूले राजीनामा माग्दै संसदभित्रै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि संसद बैठक स्थगित गरे।

प्रतिपक्षी दलका सांसदले समय मागेपछि पहिला माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा मन्त्री लेखकको बारेमा पनि अनुसन्धान गर्नुपर्ने देखिएकाले राजीनामा माग गरे।

उनले भने, ‘अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौं। यो सबै सन्दर्भमा अनुसन्धान गर्ने निकायहरु सबै माननीय गृहमन्त्रीज्यूको मातहतमा रहेका छन्। यस सम्बन्धमा गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिन हाम्रो विनम्र अनुरोध छ।’

गृहमन्त्रीले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख र उनको सचिवालय पनि मानव तस्करीमा जोडिएको भन्दै उनले अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्न गर्नुपर्नेमा जोड दिए।

‘उहाँको संलग्नता छ भनेर अहिले हामी दाबी गरिरहेका छैनौँ,’ उनले अगाडि भने, ‘अहिले हामी उहाँलाई आरोपित गर्ने पक्षमा छैनौं। पार्टी र नेताहरूमा नैतिकताको प्रश्न उठिरहेका बेला अझ थप कुनै नेता र पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन।’

उनले थप भने, ‘तर यति गम्भीर विषय उठिसकेपछि स्वयं गृहमन्त्रीज्यूले नै मार्ग प्रशस्त गर्दिनुस्। निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुस्। यो अवस्था नबन्दासम्म सम्पूर्ण प्रतिपक्षी दलबाट यो नियमित प्रक्रिया अगाडि बढ्न दिन सक्दैनौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय आयोग गठन गरेर संगठित अपराध र सम्पत्ति शुद्दिकरणमा समेत छानबिनको माग गरे।

त्यसपछि बैठक अवरुद्ध गरेका प्रतिपक्षी दलहरूलाई सभामुखले बस्न आग्रह गरे। उनीहरू नबसेको समयमा सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले हो-हल्ला  र गृहमन्त्रीको विपक्षमा नारा लगाएपछि  बैठक आधा घण्टाका लागि स्थगित गरियो।

जेठ १३, २०८२ मंगलबार ११:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।