डा. शशांकले रोलेक्स घडी र तीनवटा गाडी घुस लिएको सांसद बजगाईंको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाईंले पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालामाथि गम्भीर आरोप लगाएका छन्।
उनले डा. कोइरालाले तीनवटा गाडी, सुनको रोलेक्स घडी र नगदसहित दुईवटा झोला घुसस्वरूप लिएको आरोप लगाएका हुन्। सार्वजनिक तस्बिरमा बजगाईं आफैँ पनि उपस्थित देखिन्छन्।
बजगाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा लेखिएको छ, ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस्। तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ।’
गृहमन्त्री रमेश लेखक विवादमा मुछिएपछि बजगाईंसहितका केही नेताले छानबिनको माग गरेका थिए। तर, त्यस विषयमा पार्टी बैठकमा बजगाईंलगायत राजीनामा माग गरेका नेताहरूलाई उल्टै स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव डा. कोइरालाले राखेका थिए।
कोइरालाको उक्त प्रस्ताव सार्वजनिक भएपछि असन्तुष्ट बनेका बजगाईंले ती घुस सम्बन्धी आरोप सार्वजनिक गरेका हुन्। घटनापछि कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किएको देखिन्छ।
जेठ १३, २०८२ मंगलबार ११:३६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।