नेपाल प्रहरीका पूर्व सईको प्रेमजालमा फसेकी सुमित्रा, दुई वर्षीय छोराको भविष्य अन्योलमा

नेपाल प्रहरीका पूर्व सईको प्रेमजालमा फसेकी सुमित्रा, दुई वर्षीय छोराको भविष्य अन्योलमा

सुर्खेत : एक विवाहित पुरुषको प्रेमजालमा फस्दा जुम्लाकी सुमित्रा घर्तीको जीवनमा बज्रपात आइलागेको छ। नेपाल प्रहरीका पूर्व नायब निरीक्षक (सई) भीमबहादुर रावतसँगको सम्बन्धबाट जन्मिएका २ वर्षीय छोरा आयुष रावतको जन्मदर्ता नबन्दा सुमित्रा यतिबेला न्यायका लागि भौंतारिरहेकी छिन्। रावतले नक्कली प्रेमको नाटक गरेर आफ्नो जीवन बर्बाद पारेको उनको आरोप छ।

प्रशंग २०७५ सालको हो, जुम्ला सदरमुकाम खलंगामा ३७ वर्षीया सुमित्रा घर्तीले सानो होटल व्यवसाय सुरू गरिन्। घरेलु हिंसाका कारण पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद गरी एक्लो जीवन बिताइरहेकी सुमित्राले आफ्नै प्रयासमा होटल खोलेर स्वाबलम्बी बन्ने बाटो रोजिन्।

होटल राम्रै चलिरहेको थियो र यसै व्यवसायबाट उनको गुजारा सहजै चलाउँथिन् उनी। चन्दननाथ नगरपालिका-१ स्थायी घर भएकी सुमित्राको दैनिकी होटलमै बित्थ्यो।

त्यही क्रममा २०७५ सालमा जुम्लास्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई भीमबहादुर रावतसँग उनको भेट भयो। सुर्खेत घर भएका रावत प्रायः सुमित्राको होटलमा आउजाउ गर्न थाले। कहिले चिया त कहिले खाना खाने बहानामा उनले सुमित्रासँग निकट सम्बन्ध गाँस्ने प्रयत्न गरे।

प्रहरी कार्यालय होटल नजिकै भएकाले पनि रावतको आउजाउ बाक्लियो र बिस्तारै त्यो होटल उनका लागि ‘घर’ जस्तै बन्न पुग्यो। सुमित्राले शुरूमा खासै वास्ता नगरे पनि रावतको निरन्तरको प्रयास र मीठा कुराले उनी बिस्तारै पग्लिँदै गइन्। उनले कयौंपटक यो सम्बन्ध सम्भव छैन भन्दै रावतलाई टाढै राख्न खोजिन्, तर रावतले हार मानेनन्।

झण्डै एक वर्षसम्मको चिनजान र सामान्य सम्बन्धपछि अन्ततः सुमित्रा सई रावतले बुनेको ‘नक्कली प्रेम’को जालमा नराम्ररी फसिन्। रावतले आफू विवाहित भए पनि श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको र घरमा दुई छोरी मात्रै रहेको भन्दै सुमित्रालाई विश्वासमा लिए।

उनले सुमित्रासँग नयाँ जीवनको सुरूवात गर्न चाहेको र घरजम गर्ने इच्छा व्यक्त गरे। रावतको कुरामा विश्वास गरेपछि २०७६ सालपछि उनीहरूबीच शारीरिक सम्बन्ध भयो।

‘जुम्लामा चिनजान हुँदा उहाँले मलाई मेरी श्रीमती छैन, घरमा दुई छोरी मात्रै छन्। तिमीसँग सम्बन्ध गाँसेर नयाँ जीवन जोड्न चाहन्छु भन्नुभयो,’ सुमित्राले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘त्यसपछि मात्रै हाम्रो सम्बन्ध अगाडि बढ्यो। जुम्लामा रहँदासम्म सम्बन्ध राम्रो नै थियो। त्यसपछि कोरोना महामारी सुरू भयो र लकडाउन लाग्यो। उहाँ अवकाश भएर काठमाडौं जानुभयो। बिस्तारै फोन सम्पर्क पातलिँदै गयो र अन्ततः टुट्यो। तर, एक दिन उहाँले आफैँ सम्पर्क गरेर मलाई सुर्खेत आउन भन्नुभयो।’

कोरोनाका कारण जुम्लामा राम्रै चलिरहेको सुमित्राको होटल व्यवसाय पनि सुनसान बन्न पुगेको थियो। रावतको बोलाएपछि २०७८ सालमा उनी सुर्खेत झरिन्। वीरेन्द्रनगरको गण्डकी लाइनमा कोठा भाडामा लिएर बसिन्। भीमबहादुर रावत पनि केही समय उनीसँगै बस्न थाले।

‘सुर्खेतमा केही समय हामी सँगै बस्यौँ,’ सुमित्राले विगत सम्झँदै भनिन्, ‘त्यही बेला म गर्भवती भएँ। मैले यसअघि एउटा बच्चा गर्भपतन गराइसकेकी थिएँ। फेरि गर्भमा बच्चा बसेपछि मलाई चिन्ता भयो र जुम्ला फर्किएँ।’

सुर्खेतमा सँगै बसेर गर्भवती बनाएपछि रावतले सुमित्रालाई आफ्नो घरमा लैजान मानेनन्। सुमित्रा आफैँले रावतको घरपरिवारबारे बुझ्ने प्रयास गर्दा भीमबहादुरको घरमा श्रीमती, छोरा र छोरीसमेत भएको थाहा पाइन्। पेटमा बच्चा हुर्किसकेको अवस्थामा रावतको वास्तविकताबारे थाहा पाएपछि उनी आफ्नै थातथलो जुम्ला पुगिन्। जुम्लामा उनले आफन्त र छिमेकीबाट सामाजिक तिरस्कार र अपमान सहनुपर्यो।

समस्या र अपमानका बीच पनि सुमित्राले हिम्मत हारिनन्। अन्ततः २०७९ साल असोजमा उनले छोरा जन्माइन्, जसको नाम आयुष राखियो। २०८२ असोजमा आयुष तीन वर्ष पुग्दैछन्। यो तीन वर्षको अवधि सुमित्राका लागि निकै कठिन र संघर्षपूर्ण रह्यो। उनले छोराको जन्मदर्ता बनाउन अनेक प्रयास गरिन्, तर छोराका भीमबहादुरले सधैँ आलटाल गरिरहे। सुमित्राका अनुसार, रावतले जन्मदर्ताको कुरा गर्दा कहिले झुक्याउने, कहिले गलत ठेगाना दिने त कहिले धेरै दबाब दिए ज्यान मार्ने धम्की समेत दिने गरेका छन्।

‘हिजो जालझेल गरेर मेरो जीवनमा आउने, मलाई फसाउने उसैले अहिले बच्चाको जन्मदर्ता बनाइदिनुस् भन्दा ‘धेरै जान्ने भए ज्यान मार्दिन्छु’ भनेर धम्की दिन्छ,’ सुमित्राले आँखाभरि आँसु पार्दै भनिन्, ‘छोरा जन्मिँदा समेत ऊ कस्तो छ भनेर एक पटक बुझ्न आएन। मैले निकै कठिन अवस्थामा छोरालाई हुर्काएकी छु। अब उसकै हातबाट मर्नै परे पनि ज्यान दिन तयार छु। तर, छोराले न्याय पाउनुपर्छ।’

जन्मदर्ता बनाउने प्रयासमा रावतले निरन्तर आलटाल गरेपछि र वडा कार्यालयमा समेत उपस्थिति नजनाएपछि २०८१ माघमा सुमित्रा फेरि छोरालाई लिएर सुर्खेत झरिन्। भेरीगंगा नगरपालिका-११ को वडा कार्यालयमा जन्मदर्ता प्रक्रियाका लागि पुगेकी उनलाई बाबुको उपस्थिति अनिवार्य चाहिने भन्दै फर्काइयो। रावतले जानाजान अनुपस्थित भएर जन्मदर्ता प्रक्रिया रोकिदिएको सुमित्राको आरोप छ।

‘जन्मदर्तासम्म बनाइदिनुहोस् भन्दा पनि ‘मेरो पावर कति छ, तैँले मलाई केही गर्न सक्दिनस्’ भन्दै उल्टै धम्की दिए,’ घर्तीले भनिन्, ‘मसँग उनको घरबार होस् भन्ने मैले चाहेकी छैन। म त केवल मेरो छोराले कानुनी पहिचान पाओस् भन्ने चाहन्छु। जन्मिएको छोराको के दोष? उसको न्यायका लागि म एक्लै लडिरहेकी छु। तर, उनले कुनै वास्ता गर्दैनन्, उल्टै धम्की दिन्छन्।’

रावतले जन्मदर्तामा सहयोग नगर्ने र निरन्तर आलटाल गरिरहेपछि सुमित्राले अधिकारका क्षेत्रमा काम गर्ने संस्था सोसेक नेपालको सहयोग लिइन्। २०८१ माघ २९ गते सोसेक नेपालले भेरीगंगा नगरपालिका-११ को वडा कार्यालयलाई एक पत्र पठाएर जन्मदर्ताका लागि सहजीकरण गरिदिन अनुरोध गर्यो।

पत्रमा ‘भीमबहादुर रावत र सुमित्राको छोरा वर्ष २ को आयुष रावतको हालसम्म जन्मदर्ता नबनेको र निज रावतले आमा र छोरा दुवैको ख्याल वास्ता नगरेकाले बाबु (रावत) लाई झिकाएर जन्मदर्ता बनाइदिन’ भनिएको छ।

सोसेक नेपालको पहलपछि पनि रावतले अटेर गरिरहेपछि सुमित्रा अहिले छोराको न्याय र जन्मदर्ताका लागि कानुनी लडाइँ लड्ने मनस्थितिमा पुगेकी छिन्। उनी अहिले पनि सुर्खेतमै छिन् र रावतविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा छिन्।

‘जुम्लामा हुँदा ‘तिमीबिना अर्को संसार छैन, तिम्रै लागि जे पनि गर्छु’ भन्थे,’ घर्तीले भावुक हुँदै भनिन्, ‘बच्चा जन्मिएपछि, श्रीमती र घर भएको थाहा पाएपछि ‘मेरो पावर कति छ’ भन्दै अनेक बहानाबाजी गरिरहेका छन्। मेरो जीवन बर्बाद भयो, तर मेरो अन्तिम लडाइँ मेरो छोराको जन्मदर्ता बनाउनु र उसलाई न्याय दिलाउनु हो। तर, अहिलेसम्म मैले कतैबाट न्याय पाएकी छैन, केवल धम्की र अपमान मात्र पाएकी छु।’

यता, यस सम्बन्धमा पूर्व सई भीमबहादुर रावतसँग बुझ्दा उनले सुमित्रासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरे, तर बच्चा आफ्नो नभएको तर्क गरे।

‘मसँग सम्बन्ध भएको साँचो हो,’ रावतले भने, ‘जन्मदर्ता बनाउन वडा कार्यालय (रामघाट) गएको पनि सत्य हो, तर मैले सहमति नदिएपछि वडा कार्यालयले फिर्ता गरिदिएको हो। त्यो बेला उसले मलाई हनीट्र्यापमा पारेर फसाएको हो र जन्मिएको बच्चा मेरो हो भनेर दाबी गर्ने कुनै ठोस आधार छैन। यस विषयमा उसले अदालतमा कानुनी प्रक्रियामा गए हुन्छ।’

जेठ १३, २०८२ मंगलबार १४:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।