प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण र चिन्ताजनक रहेको आयोगको ठहर, संयमित हुन आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार निकालेको विज्ञप्तिमा जेठ १५ गते राष्ट्रिय जनआन्दोलन समितिले गर्न लागेको आन्दोलनलक्षित प्रधानमन्त्रीको अभिव्यक्तिलाई उत्तेजनापूर्ण र चिन्ताजनक भनिएको छ।
आयोगले भनेको छ, ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई छ।’
सम्माननीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक भएको भन्दै आयोगले अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुने स्मरण गराएको छ।
आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले सबैसँग आग्रह गरेको छ।
यसका अलावा जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगलाई पत्र समेत लेखेको विषय समेत आयोगले जानकारी गराएको छ।
राजावादीहरूको आन्दोलनका सन्दर्भलाई इङ्गित गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेका थिए।
जेठ १३, २०८२ मंगलबार ०८:२८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।