पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा, मुम्बई सात विकेटले पराजित

एजेन्सी : पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।
सोमबार भएको अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै पञ्जाबले शीर्ष दुईमा स्थान पक्का गरेको हो।
मुम्बईले दिएको १८५ रनको लक्ष्य पञ्जाबले १८.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो।
जोश इङ्लिसले ७३ रनको उत्कृष्ट पारी खेले भने प्रियान्श आर्याले ५७ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि १०९ रनको साझेदारी भयो। कप्तान श्रेयस अय्यर २६ रनमा अविजित रहे।
मुम्बईका मिचेल सान्टनरले २ तथा जसप्रित बुमराहले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सुर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए भने रायन रिकेल्टनले २७ र हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए।
पञ्जाबका लागि अर्शदीप सिंह र मार्को यानसेनले समान २ विकेट लिए। विजयकुमार वाइशाकले पनि २ विकेट लिए भने हरप्रीत ब्रारले १ विकेट हात पारे।
जितसँगै पञ्जाब १४ खेलमा १९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने चौथो स्थानमा सीमित हुँदै इलिमिनेटरमा पुगेको छ।
अब पहिलो क्वालिफायरमा पञ्जाबसँग प्रतिस्पर्धा गर्ने टोली मंगलबार हुने लखनउ र बेंगलुरुबीचको अन्तिम लिग खेलपछि तय हुनेछ। बेंगलुरुले जिते पहिलो क्वालिफायर खेल्नेछ, पराजित भएमा गुजरात टाइटन्सले अवसर पाउनेछ।
जेठ १३, २०८२ मंगलबार ०८:१३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।