‘जन्ते बाख्रोको’ट्रेलर रिलिजमा सौगात किन आएनन्?

‘जन्ते बाख्रोको’ट्रेलर रिलिजमा सौगात किन आएनन्?

काठमाडौं :  क्यारेक्टरमा परीक्षण गर्न नडराउने अभिनेता सौगात मल्ल अभिनीत फिल्म सङ्ख्यात्मक रूपमा जति धेरै छन् व्यवसायीक रूपमा सफल फिल्मको संख्या भने कमै छ।

प्रारम्भ नै 'लुट' जस्तो सुपरडुपर फिल्मबाट गरेका उनले त्यसपछि त्यो हदको सफलताको स्वाद चाख्न पाएका छैनन्। तर प्रयास जारी छ उनको।

उनको अभिनय रहेको फिल्म ‘जन्ते बाख्रो’को ट्रेलर हेर्दा उनले यसमा पनि फरक खालको अभिनयको परीक्षणको प्रयास गरेको देखिन्छ। कमेडी जनरा मिसाएर सामाजिक कथा भन्ने प्रयास भएको देखायो ट्रेलरले।

तर छाया सेन्टरको क्युएफएक्समा फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता सौगात नै गायब थिए। गरिमा शर्मा र आसिफ शाह भने थिए। तीन कलाकारको कथामा घुमेको ‘जन्ते बाख्रो’को ट्रेलर रिलिज कार्यक्रममा सौगात नदेखिँदा कार्यक्रम अलि खल्लो देखिने नै भयो।

सौगात गत बिहीबार जापानमा भएको जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी हुन गएकाले कार्यक्रममा थिएनन्।

उनी प्रदर्शनरत फिल्म ‘पीताम्बर’बाट बेस्ट एक्टर नोमिनेशनमा परेकाले जापान पुगेका थिए। अवार्ड कार्यक्रममा उनले यसै फिल्मबाट बेल्ट एक्टरको अवार्ड समेत पाए। जेठ २३ गते ‘जन्ते बाख्रो’ प्रदर्शनमा आउँदैछ।

मिसोस सुनुवारको निर्देशनमा बनेको फिल्मलाई सन्तोष गौतमले लगानी गरेका छन्। यो फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन्।

यसअघि प्रदीप र सिमोसले ‘हात्तीछाप’ मा सहकार्य गरेका थिए जुन त्यति फलदायी भएन। जन्ते बाख्रोले दर्शक सन्तुष्ट हुने या नुन नपुग्ने हो त्यो जेठ २३ पछि खुल्ने नै छ।

जेठ १२, २०८२ सोमबार २३:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।