संघीयताको आवरणमा कार्यक्रम गरेर कुलिङ पिरियडको विरोध, कानुन सचिव नै विपक्षमा

काठमाडौं : संघीयता कार्यान्वयनको कार्यक्रमको आवरणमा बहालवाला र पूर्व सचिवहरूको निजामती विधेयकमा प्रस्तावित २ वर्षको कुलिङ पिरियडको विरोध गरे। मुख्यसचिवदेखि सचिवहरूसम्म लाइन लागेर शक्तिकेन्द्र धाए पनि पक्षमा माहौल नबनेपछि उनीहरूले संघीयताबारे सार्वजनिक छलफलको आवरणमा कुलिङ पिरियडको विपक्षमा माहौल बनाउने प्रयास गरे।
सोमबार ‘प्रशासनिक संघियता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू विषयक सन्देशमूलक कार्यक्रम’ नाम राखेर भएको कार्यक्रमका अधिकांश वक्ताहरूले संघीय निजामती ऐनमा प्रस्तावित कुलिङ्ग पिरियडको विपक्षमा बोलेका थिए।
कार्यक्रममा उपस्थित बहालवाला र पूर्व सचिवहरूले निजामती कर्मचारीलाई मात्रै किन कुलिङ्ग पिरियड भन्ने प्रश्न गरेका थिए। काठमाडौंको अनामनगरमा भएको उक्त कार्यक्रममा कानुन मन्त्रालयका बहालवाला सचिव उदयराज सापकोटा प्रमुख वक्ताको रूपमा सहभागी थिए।
कार्यक्रममा उनले निजामती कर्मचारीलाई मात्रै कुलिङ पिरियड राखेर कानुन ल्याउन नहुने भन्दै विपक्षमा उभिएका थिए। उनले कुलिङ पिरियड लाग्ने भए शिक्षक, सेना र प्रहरीलाई पनि लागु हुने गरी कानुन ल्याउनुपर्ने तर्क गरेका थिए।
‘अहिले म सरकारकै मन्त्रालयमा रहेकोले कुलिङ्ग पिरियडको विषयमा बोल्न मिल्दैन तर पनि कुलिङ्ग पिरियड निजामती कर्मचारीको लागि मात्रै ल्याउन लागिएको छ,’ उनले सार्वजनिक कार्यक्रममा भने ‘शिक्षक,सेना,प्रहरीलाई कुलिङ्ग पिरियड लागु नहुने तर राम्रो व्यक्ति निजामती कर्मचारी कोही सल्लाहकार हुन सक्छन् कोही, विज्ञ भएर काम गर्न सक्छन्।’
पूर्व सचिव दामोदर रेग्मीले कुलिङ्ग पिरियड राख्ने भए सबैलाई राख्नुपर्ने तर सल्लाहकार, विज्ञको रूपमा निजामती कर्मचारीलाई राख्न सकिने बताए।
‘कुलिङ्ग पिरियड अरू देशमा पनि नभएको होइन, छिमेकी मुलुक चीन,भारत लगायतमा नभएको होइन। तर सरकारले निजामतीमा भएका क्षमतावानलाई समेत पाखा लगाउने तरिकाले ऐनमा व्यवस्था गर्न लागेको छ। यो व्यवस्थाले राम्रो व्यक्तिले काम गर्न नपाउने देखिन्छ’ उनको तर्क थियो।
नेपाल बार एसोसिएसनका अध्यक्ष विजय कुमार मिश्रले समेत सरकारले ल्याउन लागेको कुलिङ्ग पिरियडको विरोध गरे। उनले कार्यक्रममा राम्रो मान्छेको अनुभव पाउनु पर्ने भन्दै धेरै देशमा अवकाशको उमेर हद समेत नभएको भन्दै नेपालमा भने कुलिङ्ग पिरियड आएको तर्क गरे।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख कृष्णहरि बास्कोटा, पूर्व सचिव डा. योगेन्द्र कुमार कार्की, लक्ष्मी राम पौडेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल लगायत सहभागी थिए।
जेठ १२, २०८२ सोमबार २२:४२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।