मकवानपुरको पालुङमा यात्रुबस दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

मकवानपुरको पालुङमा यात्रुबस दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

मकवानपुर : मकवानपुरको पालुङमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

त्रिभुवन राजपथको थाहा नगरपालिका–३ स्थित विद्युत् प्राधिकरण नजिकै गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुबस सडकमा हिँडिरहेका पैदलयात्रुहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको हो।

दुर्घटनामा परी अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुवै जनाको मृत्यु उपचारको क्रममा भएको हो। उनीहरूको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा पुगेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ। यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अर्यालका अनुसार, बसमा चालक मात्रै सवार थिए। चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिइएको छ। मृतक र घाइते सबैजना पैदलयात्री भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जेठ १२, २०८२ सोमबार २२:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।