अख्तियारको निर्देशनपछि गजेन्द्र नारायण अस्पतालको खरिदबारे सार्वजनिक कार्यालयको छानबिन, अधिकांश अन्तिम चरणमा

अख्तियारको निर्देशनपछि गजेन्द्र नारायण अस्पतालको खरिदबारे सार्वजनिक कार्यालयको छानबिन, अधिकांश अन्तिम चरणमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन र कार्वाहीको निर्देशनपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको खरिद अनियमितताबारे छानबिन सुरु गरेको छ।

अस्पतालको खरिद बदमासीबारे परेको उजुरी प्रारम्भिक अनुसन्धानपछि आयोगले अनुगमन कार्यालयलाई छानबिन गरेर कार्वाही गर्न पत्र पठाएपछि कार्यालयले अस्पतालसँग खरिद सम्बन्धी सम्बन्धित कागजात मागेको छ।

उकेरालाई प्राप्त प्रमाण अनुसार आयोगले २०८२ वैशाख ७ गते सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)लाई गजेन्द्र नारायणमा भएको खरिदको विषयमा ‘आवश्यक कार्वाही गर्न’ भन्दै पत्र पठाएको थियो।

अख्तियारले पठाएको पत्रमा ‘ठेकेदारहरूसँग मिलेमतो गरी आर्थिक वर्ष २०८१-०८२ का विभिन्न मितिहरूमा बोलपत्रमार्फत ठेक्का दिई भ्रष्टाचार गरेको भन्ने विषयमा उजुरी परेको उल्लेख छ। ‘अख्तियारमा पेस भएको उजुरी सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंमा लेखि पठाउने भन्ने २०८२ वैशाख ५ गते निर्णय भएको’ पत्रमा उल्लेख छ।

अख्तियारले ‘आवश्यक कार्वाही गर्न’ पत्र पठाए लगत्तै कार्यालयले सात दिन भित्र सो खरिद सम्बन्धी कागजात सहितको  विवरण पठाउन भन्दै गजेन्द्र नारायण सिंह अस्पताललाई पत्र पठायो।

कार्यालयले अस्पताललाई पठाएको पत्रमा,‘... उक्त खरिद कार्यमा कार्यालयबाट भएका निर्णयको प्रतिलिपि र उक्त खरिदको सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा त्यहाँ कार्यालयको राय प्रतिक्रिया समेत पत्र प्राप्त भएको मितिले ७ दिन भित्र कार्यालयमा पठाउन भनिएको छ।

कार्यालयले ठेक्का (आइएफबी) नम्बर ‘जीएनएसएच–एसएपीटीएआरआई–गुड्स–एनसीबी–१२–०८१–८२’ र ...१४–, ०६, ०७, ०८, ०९, ११–०८१–८२’ जस्ता टेन्डरको विवरण मागेको छ।

केही महिना अगाडि मात्रै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गजेन्द्रमा रहेका डा श्रीराम तिवारीलाई हटाएर अर्का डा प्रकाश साहलाई प्रमुखको जिम्मेवारी दिएका थिए। साह गएपछि नै अस्पतालको खरिद प्रक्रिया अगाडि बढेको हो। साह यस अगाडि शुसिल कोइराला प्रखर क्यान्सर  अस्पतालको प्रमुख थिए।

मिलेमतो अनुसार नै अन्तिम चरणमा टेन्डर

यता अख्तियारको निर्देशन अनुसार कार्यालयले टेन्डरबारे छानबिन गरिरहेको बेलामा उता गजेन्द्र नारायण अस्पताल नेतृत्वले भने भटाभट टेन्डर प्रक्रिया अगाडि बढाएर अन्तिम चरणमा पुर्याएको छ।

जेठ २ गते मात्रै गजेन्द्र नारायण अस्पताल नेतृत्वले ‘डिजिटल कोल्पोस्कोप वीथ थर्मोकोगुलेटर’को प्राविधिक मूल्याङ्कनको चरणमा ‘जीएच मेडिहेल्थ कन्सर्न प्रालि’ र ‘गोसाईंकुण्ड मेडिसिन सप्लायर्स प्रालिलाई छनोट गर्यो। यी दुईमध्ये जुन फर्मको प्रयोग भए पनि यो खरिद सेटिङ गर्ने सप्लायर्स कम्पनीका मालिक मुकुन्द गौतम हुन्।

सामान्यतया उनले ‘जीएच मेडिहेल्थ कन्सर्न प्रालि’बाट टेन्डर पार्ने गरेका छन्। गजेन्द्र नारायणमा ‘एकल’ टेन्डर मात्रै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दा खुला रूपमा मिलेमतो देखिने भएपछि योजना अनुसार नै दुई वटा फर्मको प्रयोग भएको देखिन्छ।

जेठ ९ गते आर्थिक प्रस्ताव खुलेको यो टेन्डरमा मिलेमतो अनुसार नै ‘जीएच मेडिहेल्थ कन्सर्न प्रालि’ आर्थिकरुपमा समेत छनोट भइसकेको स्रोतले उकेरालाई जानकारी दियो। अब टेन्डर पाउने पनि उसैले हो। यसरी सेटिङ अनुसार हुने टेन्डरमा जसलाई टेन्डर दिने हो उसलाई केही कम मूल्यमा टेन्डर प्रस्ताव गर्न लगाइन्छ, अनि मिलेमतो योजना अनुसार प्रयोग भएको टेन्डर ‘पार्नु नपर्ने’ फर्मलाई बढी मूल्य प्रस्ताव गर्न लगाइन्छ। मिलेमतो योजना अनुसार कम मूल्य कबुल गरेको भन्दै कम मूल्य कबुल गर्न लगाइएको फर्मलाई टेन्डर दिइन्छ। यसरी खरिदमा प्राविधिक र आर्थिक दुवै चरणमा मिलेमतो हुने गरेको देखिन्छ।

‘डिजिटल कोल्पोस्कोप वीथ थर्मोकोगुलेटर’को  ठेक्का (आइएफबी) नम्बर ‘जीएनएसएच–एसएपीटीएआरआई–गुड्स–एनसीबी-१०-०८१-८२’ हो।

अस्पतालले जेठ दुईमा नै  प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दै सूचना जारी गरेको ‘इन्डोस्कोपि मेसिन’को टेन्डरको प्राविधिक मूल्याङ्कनमा एउटा मात्रै सप्लायर्स कम्पनी ‘हिमालयन मेडिकल टेक्नोलोजिज प्रालि’ लाई छनोट गरियो।

यसको पनि जेठ ९ गते नै आर्थिक प्रस्ताव खुल्ने मिति तोकिएको थियो। आर्थिक मूल्याङ्कनको चरणमा एउटा मात्रै सप्लायर्स कम्पनी छानिएपछि उसैले टेन्डर पाउने पक्कापक्की भइहाल्यो।

त्यसैगरी ‘फुल्ली इन्डो युरोलोजी सेटअप’को टेन्डरको प्राविधिक मूल्याङ्कनको चरणमा पनि ‘हिमालयन मेडिकल टेक्नोलोजिज प्रालि’ र ‘क्यापिटल इन्टरप्राइजेज’लाई छनोट गरियो। यसको खरिद पनि मिलेमतोमै अगाडि बढेको देखिन्छ। यो टेन्डरको पनि आर्थिक प्रस्ताव खोल्ने मिति जेठ ९ गतेलाई तोकिएको थियो। सामान्यतया तोकिएकै समयमा आर्थिक प्रस्ताव खुल्छ।

अस्पतालले जेठ १२ मा सूचना जारी गर्दै ‘एनेस्थेसिया वर्किङ स्टेसन वीथ ओटी सेटअप’को प्राविधिक मूल्याङ्कनको चरणमा ६ वटा सप्लायर्स कम्पनीलाई छनोट गरेको जनाएको छ। अस्पतालले सोही मितिमा ‘अर्थोपेडिक सर्जरी ओटी सेटअप’को टेन्डरको प्राविधिक मूल्याङ्कनको चरणमा एउटा मात्रै ‘पोस्ट मेडिकल इन्टरनेश्नल प्रालि’ नामको सप्लायर्स कम्पनीलाई छनोट गर्यो।

‘एनेस्थेसिया वर्किङ स्टेसन वीथ ओटी सेटअप’ र ‘अर्थोपेडिक सर्जरी ओटी सेटअप’को आर्थिक प्रस्ताव भने जेठ १९ मा खुल्ने अस्पतालले जनाएको छ।

जेठ १२, २०८२ सोमबार २१:४९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।