विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुँदैन: शिक्षामन्त्री पन्त

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुँदैन: शिक्षामन्त्री पन्त

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगरी शैक्षिक स्वतन्त्रता कायम राख्ने बताएका छन्। 

नेपाली कांग्रेसको शिक्षा विभागले आज काठमाडौँमा आयोजना गरेको 'शिक्षा नीति' विषयक बहस कार्यक्रममा मन्त्री पन्तले विश्वविद्यालयलाई स्वायत्त र स्वतन्त्र राख्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले पछिल्लो समय शिक्षाको क्षेत्र राजनीतिक प्रभावमा परिरहेको भन्दै प्राज्ञिक व्यक्तित्वहरुलाई पदको आशामा राजनीतिक नेताको पछि नलाग्न सुझाव दिए। मन्त्री पन्तले भने, ‘राजनीतिक नेतृत्वले आफैं खोज्ने गरी काम गर्ने वातावरण बन्नुपर्छ, त्यसका लागि शिक्षाविद्हरुले पनि आत्मसमीक्षा गर्नुपर्छ।’

उनले दीर्घकालीन र सर्व स्वीकार्य शिक्षा नीति बनाउन सबै राजनीतिक दलका शिक्षा विभागबीच गहन छलफल आवश्यक रहेको उल्लेख गरे। ‘अहिले शिक्षा नीति एक किसिमको छ भने शिक्षा ऐन अर्कै प्रकारको छ,’ मन्त्री पन्तले भने, ‘त्यसैले अब कम्तीमा १५ वर्षलाई लक्षित गरी साझा शिक्षा नीति बनाउनुपर्छ।’

विद्यार्थीहरूलाई विदेश पठाएर देशको आर्थिक विकास सम्भव नहुने भन्दै मन्त्री पन्तले स्वदेशमै गुणस्तरीय शिक्षाको प्रबन्ध गरेर विदेशिने प्रवृत्तिमा रोक लगाउनुपर्नेमा जोड दिए।

जेठ १२, २०८२ सोमबार २१:२०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।