‘नायक पुरुषको पेवा होइन’

अधिकांश फिल्मका केन्द्रीय पात्र अभिनेतालाई बनाइन्छ। जसलाई आमरूपमा ‘नायक’ पनि भनिन्छ। अभिनेत्रीलाई भने उनीहरूका सहयोगी जस्तो आलङ्कारिक भूमिका दिइन्छ। तर २०५७ पुसमा फिल्म ‘हिरो’बाट डेब्यु गरेकी रेखा थापाले भने अभिनेत्रीको यो परम्परागत परिभाषा नै बदलेको मान्नेहरू टन्नै छन्।
उनले अभिनय गरेका अधिकांश फिल्मको केन्द्रीय पात्रमा उनी आफैं देखिएकी छिन्। त्यसैले त रेखाको हकमा बारम्बार प्रयोग हुने विशेषण हो ‘हिरो जस्तै रेखा’। आखिर नायक के हो- भूमिका, चरित्रचित्रण वा लिङ्ग? यसबीचमा निर्मातादेखि निर्देशकसम्मको अनुभव लिइसकेकी उनै रेखासँग उकेराकर्मी भोला अधिकारीले नायक शब्दको परिभाषा पर्गेल्न गरेको संवादको सम्पादित अंश :
-------------------
नायक भनेको लिङ्ग हो कि भूमिका?
भूमिका अनि क्षमता हो। कुनै पनि समाज वा देशमा राम्रो छाप छोड्न सक्ने, सत्कर्म गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने सशक्त पात्र नै नायक हो। नायक लिङ्गका आधारमा हुँदैन।
कुनै मानिस शारीरिक रूपमा असक्त छ भने पनि उसले नेतृत्व गर्न सक्छ। झमककुमारी घिमिरेलाई हेरौं न। के उहाँ समाजको नायक होइन र? उहाँले लेखेका पुस्तकहरू कति गहकिला छन्। यस कारण नायक भनेको क्षमता हो, लिङ्ग होइन।
यो त आम परिभाषा भयो। फिल्मका हकमा चाहिँ अभिनेत्रीले पूर्णतः नायकको भूमिका निर्वाह गर्न सक्छन्?
किन नसक्नु? जस्तो मैले निर्माण गरेको अधिकांश फिल्ममा महिला नै नायकको रूपमा उदाएका छन्। त्यहाँ उसको पात्र नायक बनेको छ।
समाजमा महिलाहरू श्रृंगारिक पात्र मात्र हुन् भन्ने सोच छ। महिलालाई नायकको भूमिका दिँदा उसले सक्दिन होला, अथवा नायक भन्ने बित्तिकै एक्सन अवतारमा केटाहरू कुट्ने खाले भन्ने बुझिन्छ। कुनै कुराको बदला लिन केटाले मात्र सक्छ केटीले सक्दैन भन्ने एक किसिमको आम बुझाइ छ। त्यसकारण अभिनेत्रीलाई नायक भन्न कन्जुस्याइँ भएको हो।
म ०५७ सालमा फिल्म क्षेत्रमा आएदेखि नै यस बारेमा फरक मत राख्दै आएकी छु। केटीले पनि केटाको जत्तिकै बलियो भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरामा आवाज उठाएकी छु। फिल्ममा केटाले मात्रै मान्छे कुट्न सक्छ वा कसैलाई बचाउन सक्छ भन्ने भाष्य भत्काएको छु।
तर नेपाली सिनेमा र रंगमञ्चमा ‘नायक’ शब्दले इंगित गर्ने अर्थ त तपाईँले भनेभन्दा बेग्लै छ नि !
हो समस्या छ। नायकलाई पुलिङ्गी शब्द मान्छन्। नायक भन्यो कि पुरुष पात्र बुझिन्छ। यो गलत सोच हो। नायक त त्यो हो जसले सिङ्गो फिल्म बोकेको हुन्छ, चाहे महिला होस् चाहे पुरुष। महिला, पुरुष जो भए पनि नवरसमा रहेर अभिनय गर्ने हुन्। त्यसैले अब दृष्टिकोणमा रूपान्तरण गर्न जरुरी छ।
एकाध फिल्म बनेका छन् जहाँ महिला केन्द्रीय भूमिकामा छन्। तपाईँकै फिल्महरूमा महिलाको भूमिका सशक्त पाइन्छ। तर, तपाईँले भने जस्तो दृष्टिकोणमै रूपान्तरण चाहिँ कसरी हुन्छ?
हिजो हलका भित्तामा सिङ्गो महिलाको पोस्टर भएको फिल्मलाई मतलब गरिँदैनथ्यो। ‘हिरो को हो?’ भन्ने प्रश्न प्रधान हुन्थ्यो। लिङ्गका आधारमा नायक शब्दलाई परिभाषित गर्नाले यस्तो भयो।
तर, अब महिला कलाकार सधैँ श्रृंगारिक पात्र मात्रै बनेर हुँदैन। महिला पनि पात्र हुन्, ‘प्रप्स’ होइनन्।
फिल्म भनेको सोझै समाजसँग गाँसिएको विधा हो। त्यसैले समाजमा चाहिँ नेतृत्व लिने भनिरहँदा फिल्ममा चाहिँ सधैँ शृंगारिक पात्र मात्र बन्ने भन्ने हुँदैन। अब पुरुष पात्रको वरिपरि नाच्ने भूमिकाले हुँदैन। हिरोइन मात्र किन हिरोको वरिपरि नाच्ने?हिरो पनि हिरोइनको वरिपरि नाच्दा हुन्छ नि त। पुरुष पात्रलाई भिलेनहरूले खेद्दा महिला पात्रले बचाउन सक्दैनन् र?मैले ‘दमदार’ भन्ने फिल्ममा गरेको छु त। त्यो दृश्यमा त दर्शकहरूले हलमा ताली पनि पिटे।
हिरो र नायकबीचको भिन्नता चाहिँ के हो?
हिरो र नायक फरक हो। हिरो भन्दा हामीले राम्रो, हेर्दा सुन्दर लगायतका मापदण्डमा राखेर हेर्छौँ। नायक भनेको त सिङ्गो माहौललाई बोकेर हिँड्ने, एउटा उत्तरदायित्व बोकेर हिँड्ने पात्र हो नि। ‘सेन्ट्रल क्यारेक्टर’ हो नायक भनेको। त्यो पात्र पुरुष पनि हुन सक्छ, महिला पनि हुन सक्छ।
यदि कुनै पात्रले सामाजिक दायित्व निर्वाह गर्दैन भने ऊ केवल हिरो वा हिरोइन हो, नायक होइन।
अहिलेको ‘ग्लोबलाइजेशन’मा पनि हामी शब्दमा अड्किएर बसेका छौँ। रेखालाई कसैले नायक हो या हिरो हो भन्यो भने यो त केटी हो नि भन्दै आश्चर्यभाव व्यक्त गरिन्छ। तर नायक भनेको पुरुषको पेवा होइन। पुरुषलाई मात्र नायकको ट्याग भिडाइदिने होइन।
अभिनेत्री हुँदै निर्देशक पनि बन्नुभयो। तपाईँको अनुभवमा लिङ्गको आधारमा नेपाली महिला कलाकारले कस्ता कस्ता चुनौती भोग्नुपरिरहेको छ?
अभिनेत्रीको हकमा लेखनबाटै समस्याको सुरुआत हुन्छ। लेख्दा नै भूमिका खुम्च्याइन्छ। त्यसले भूमिका नै चुनौतीपूर्ण देखिन्छ। फिल्ममा हुनु र नहुनुबीच केही फरक नपर्ने पात्रमा पनि के अभिनय गर्नु!
अर्को भनेको पारिश्रमिक पनि हो। यहाँ कामको आधारमा हैन, अहिले पनि लिङ्गको आधारमा पारिश्रमिक तोकिन्छ। फलाना हिरोको यति र उति भनेर हल्ला गरिन्छ। अभिनेत्रीको यति लाख पारिश्रमिक भनेको कमै सुनिन्छ।
यो प्रवृत्तिको प्रतिवाद कसले गर्ने? अधिकांश अभिनेत्रीमा त यो विषयमा स्वीकारोक्तिको भाव देखिन्छ।
हो। जस्तो चरित्र दियो त्यसैमा चित्त बुझाउनु भएन। ‘म एक्लै फिल्म चलाउन सक्छु’ भन्ने आत्मविश्वास अभिनेत्रीमा कमै देख्छु म। आफ्नै बलबुतामा फिल्म चलाउन सक्ने भूमिकाको निर्माण गर्न सक्नुपर्छ। पारिश्रमिकमा आवाज उठाउन सक्नुपर्छ। आफ्नो भूमिकामा आवाज उठाउनुपर्छ। नबोली कसैले दिन्न। बोल्नै पर्छ।
जेठ १२, २०८२ सोमबार २०:०४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।