फेसबुकमा विभेदपूर्ण टिप्पणी गरेको आरोपमा पत्रकार पक्राउ

सुर्खेत : जातीय विभेदसम्बन्धी सामाजिक सञ्जालमा गरिएको टिप्पणीका कारण पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन्। दैलेख आठबीस नगरपालिका-६ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ बसोबास गर्दै आएका ३९ वर्षीय थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार पक्राउ गरेको हो।
थापाविरुद्ध राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कर्णाली प्रदेश समितिले ०८२ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदसम्बन्धी उजुरी दर्ता गरेको थियो।
उजुरीमा उल्लेख भए अनुसार वैशाख १० गते बलबहादुर थापा नामक फेसबुक अकाउन्टबाट ‘पिठिउँ पछि कुरा काट्ने काट्दै गर तर आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमीहरूलाई पुज्छु’ भन्ने स्टाट्समा जातीय विभेदजन्य शब्द प्रयोग गरेर अपमानजनक टिप्पणी गरिएको थियो।
यही कमेन्टलाई लिएर संघले थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दिएको थियो। उजुरी दर्ता भएपछि उनी केही समय फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाथोकीका अनुसार, पक्राउ परेका थापालाई अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले घटनालाई ‘जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ अनुसार अनुसन्धान गरिरहेको जनाएको छ।
जेठ १२, २०८२ सोमबार १९:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।