फाप्लु-काठमाडौं सातामा चार दिन उडान हुने

सोलुखुम्बु : लामो समयपछि फाप्लु विमानस्थलबाट काठमाडौंसम्मको हवाई सेवा सुरू भएको छ। नेपाल एयरलाइन्सले अब सातामा चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार प्राविधिक खराबीका कारण ग्राउण्डेड भएको जहाज मर्मत सम्पन्न भएसँगै फाप्लु–काठमाडौं हवाई सेवा पुनःसञ्चालन भएको हो।
यसअघि हप्तामा एक दिन मात्र उडान हुँदै आएकोमा प्राविधिक समस्या आएपछि गत पुसदेखि चैत्रसम्म सेवा पूर्णरूपमा बन्द भएको थियो।
नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार, विमान नियमित रूपमा आउन थालेपछि स्थानीयहरूमा सहजता बढेको छ। सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, ‘अब काठमाडौं जान ‘बिपी राजमार्ग’को कष्टकर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। तर यो सेवा अस्थायी नभई भरपर्दो र निरन्तर हुनुपर्छ।’
हवाई सेवा ठप्प हुँदा स्थानीयहरूलाई यात्रा, व्यापार, आपतकालीन उपचार र अन्य आवश्यक काममा निकै अप्ठ्यारो परेको थियो। तर अहिले सेवा पुनः सुरु भएपछि पर्यटकीय जिल्ला सोलुखुम्बुका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।
ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले उडान सुचारु हुनुले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए। नियमित हवाई सेवाले घुम्न आउने पर्यटकको चाप बढाउन सहयोग पुग्नेछ, जुन सोलुखुम्बुको स्थानीय अर्थतन्त्रका लागि राहत हुने अपेक्षा गरिएको छ।
जेठ १२, २०८२ सोमबार १८:३१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।