शिक्षामन्त्री पन्त भन्छन्- ‘संयोगले मन्त्री भएँ, धेरै कुरा सिक्दैछु’

शिक्षामन्त्री पन्त भन्छन्- ‘संयोगले मन्त्री भएँ, धेरै कुरा सिक्दैछु’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफू संयोगवश शिक्षामन्त्री बन्न पुगेको भन्दै अहिले शिक्षा क्षेत्रका धेरै कुरा सिक्ने प्रक्रियामा रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘शिक्षा नीति बहस’ अन्तर्गत ‘उच्च शिक्षाका आयाम’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले मुलुकको शिक्षा प्रणालीलाई अगाडि बढाउन विशेषज्ञ, शिक्षाविद्हरूको सुझाव र सहयोग अपरिहार्य रहेको बताए।

‘लामो समय पत्रकारितामा बिताएँ,’ पन्तले भने, ‘पत्रकार महासंघको महासचिव हुँदै संसद सदस्य बनेको मान्छे हुँ। संयोगले शिक्षामन्त्री बन्ने मौका जुर्यो,। अहिले म तपाईहरूकै विद्यार्थी हुँ। सबैले बाटो देखाइदिनुहोला।’

उनले सम्पादकीय लेखहरू र पाठक प्रतिक्रियामा कतिपय गहन विचार प्रस्तुत हुने भन्दै त्यस्ता विचारहरूबाट आफू प्रभावित हुँदै आएको बताए। ‘कहिलेकाहीँ विद्वानहरूले पनि भन्न नसकेको कुरा पाठक प्रतिक्रियाले बोलेको हुन्छ,’ उनले थपे।

मन्त्री पन्तले शिक्षा र राजनीति दुवै क्षेत्रमा बहुलवादलाई सैद्धान्तिक रूपमा स्वीकार नगरेसम्म विविधता र समावेशिता सम्भव नहुने धारणा पनि व्यक्त गरे।

उनले शिक्षा क्षेत्रको रूपान्तरणका लागि साझा सोच, बहस र मार्गदर्शन आवश्यक रहेको बताए।

जेठ १२, २०८२ सोमबार १७:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।