अन्नपूर्ण आधार शिविरमा म्याराथन प्रतियोगिता हुने

म्याग्दी : अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) चढिएको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ। अन्नपूर्ण गाउँपालिकाले यही जेठ १६ देखि २१ गतेसम्म मनाउने हीरक महोत्सवको अवसरमा यो विशेष दौड कार्यक्रम राखिएको हो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरबाट नारच्याङ गाउँसम्म ३० किलोमिटर लामो म्याराथन हुने तय गरिएको छ। प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने छन्।
म्याराथनमा गाउँपालिकाका आठ वडाबाट पाँच-पाँच जना, जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई–दुई जना, र नारच्याङ क्षेत्रका थप युवाहरूले सहभागिता जनाउने म्याराथन उपसमिति सदस्य चित्र तिलिजाले जानकारी दिए। विजेता तीन जनालाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
हीरक महोत्सवमा म्याराथनसँगै पुख्र्यौली नाच, सांस्कृतिक कार्यक्रम, र ऐतिहासिक कार्यहरू पनि हुने छन्। आधार शिविरमा फ्रान्सेली आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली शेर्पा सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिनेछ। साथै, नयाँ निर्माण भएको खुला संग्रहालय, र नारच्याङदेखि आधार शिविरसम्मको मौरिस हर्जोग पदमार्ग पनि उद्घाटन गरिनेछ।
पर्यटन विकास समिति सदस्य तेज गुरुङका अनुसार, आधार शिविरमा पहिलो आरोहणको ऐतिहासिक शिलालेख राखेर आरोहीहरूको अभिलेख सुरक्षित गर्ने तयारी पनि गरिएको छ।
स्मरण रहोस्, सन् १९५० जुन ३ मा मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहितको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। यसै ऐतिहासिक क्षणको ७५ वर्ष पुगेको स्मृतिमा यो हीरक महोत्सव भव्य रूपमा मनाउन लागिएको हो।
जेठ १२, २०८२ सोमबार १७:४४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।