लु सौगात मल्ललाई नि नाच्न आयो
काठमाडौँ : कम्मरै नहल्लिए पनि कतिपय निर्देशकलाई हिरोलाई नचाउने रहर जाग्छ। तर त्यही रहरले फिल्ममा कहर बढाएका उदाहरण टन्नै छन्। मुख्य रूपमा विपिन कार्की, दयाहाङ राई, खगेन्द्र लामिछानेसँगै सौगात मल्ललाई नचाउने निर्देशकको रहर अहिलेसम्म सफल भएको देखिँदैन।
तर सौगात यो मामिलामा भने अलि फरक देखिए फिल्म ‘जन्ते बाख्रो’ मा। फिल्ममा रहेको गीत ‘मुकुमुकु म्या’ मा निर्देशकले सौगातलाई नचाएका छन्। सौगात पनि नाचेका छन्। यसमा सौगातको नृत्य निकै सहज देखिएको छ। उनको कम्मर पनि लच्किएको छ, चाल पनि मिलेको छ। यो चैँ अचम्मै हो।
उनले निकै सहज रूपमा नाच्न पोख्त कलाकार जस्तै गरी नाचेका छन् यो गीतमा। उनको शरीरको लचकले उनले यो गीतमा नाच्नका लागि राम्रै मिहेनत गरेको देखिन्छ। अब नाच्न रहर गर्ने वा नचाउन रहर गर्ने निर्देशकहरुले पनि कि न सौगात जसरी नचाउनु नत्र विपिन, दया र खगेन्द्रलाई नचाउँदै ननचाउनु।
सिमोस सुनुवार निर्देशित फिल्ममा मल्लसहित गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको अभिनय छ। फिल्म जेठ २३ मा रिलिज हुँदैछ।
जेठ १२, २०८२ सोमबार १७:२०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।