भिजिट भिसा प्रकरणमा सत्ताधारी गृहमन्त्रीको बचाउमा, नैतिक रूपमा राजीनामा गराउने प्रतिपक्षी दलको रणनीति

काठमाडौं : सत्ताधारी दुई दल एमाले र नेपाली कांग्रेस भिजिट भिसाको आवरणमा सङ्गठित रूपमा मानव तस्करीमा गृह प्रशासनकै कर्मचारीको संलग्नताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएसँगै सङ्कटमा परेका गृहमन्त्री रमेश लेखकको पक्षमा उभिएका छन्।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित चार जनामाथि अनुसन्धान गरिरहेको छ। गृह प्रशासन र गृहमन्त्रीको सचिवालयकै कर्मचारीहरू अनुसन्धानको दायरामा तानिएपछि अहिले सरुवाकोक्रम सुरु भएको छ।
भट्टराई भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न समूहमा संलग्न रहेर रकम असुली गर्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार अनुसन्धानमै रहेको बेलामा गृहमन्त्री लेखकले एकाएक उनको सरुवा गराएकाले उनी समेत शंकाको घेरामा परेका छन्।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। उनीहरूले राजीनामा नआए संसद् बैठकमा यो विषय उठाउने तयारी गरिरहेका छन्।
बजेटको मुखमा प्रतिपक्षी दल गृहमन्त्रीको राजीनामाको विषय उठाएर संसद् अवरुद्ध गर्नेसम्मको तयारीमा जुटेको बेलामा सत्ताधारी दलले भने औपचारिक रूपमा कर्मचारी अनुसन्धानको दायरामा पर्दा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्षमा पुगेका छन्।
एमालेले आइतबारै पार्टीको सचिवालय बैठकपछि कर्मचारीबारे संवैधानिक निकाय अनुसन्धानमा रहेकाले मन्त्रीले राजीनामा दिनु नपर्ने धारणा सार्वजनिक गरेको थियो। एमाले महासचिव शंकर पोखरेलले नै एमालेको धारणा सार्वजनिक गरेका थिए।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनु नपर्ने बरु उनको राजीनामा माग्ने पार्टीका तीन नेतामाथि कारबाही हुनुपर्ने निष्कर्षमा पुगेको छ।
पार्टी पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महत र पार्टी नेता डा शशांक कोइराला दुवैले गृहमन्त्री यो प्रकरणमा निर्दोष रहेको बरु उनी विरुद्ध अभिव्यक्ति दिने शेखर कोइराला, सुनिल शर्मा र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको बताएका थिए।
पार्टी बैठकमा गृहमन्त्री लेखकले सो प्रकरणबारे जानकारी दिँदै कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको त्यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। त्यसैको आधारमा पार्टीले यसबारे गृहमन्त्री तथा पार्टी नेता निर्दोष रहेको निष्कर्षमा पुगेको देखिन्छ।
पार्टी प्रवक्ता डा महतले गृहमन्त्री लेखक छानबिनको दायरामा रहेको तर अहिले नै संलग्न रहेको भन्न नमिल्ने तर्क गर्दै उनी निर्दोष रहेको दाबी गरेका थिए। उनले यसैको आधारमा संसद् अवरोध गर्न नहुने बताए।
राजीनामा गराउने प्रतिपक्षी रणनीति
सत्ताधारी गृहमन्त्री निर्दोष रहेको अडानमा कायमै रहे पनि प्रतिपक्षी भने यो विषयलाई संसद्मा प्रवेश गराउने तयारीमा देखिन्छन्। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीको राजीनामा मागिसकेका छन्।
माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको उनले जानकारी दिएका थिए।
बैठकपश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले भने‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अब गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ, पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन, स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष छ।’
सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले गृहमन्त्री र उनको सचिवालय नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भई पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेको बेलामा नेपाली कांग्रेसको प्रमुख सचेतकको रूपमा लेखकले प्रश्न उठेपछि राजीनामा दिएर निष्पक्ष अनुसन्धान गर्ने वातावरण बनाउनुपर्ने विषय उठाएकाले रास्वपाले उनकै सोही भनाइलाई संसद्मा उठाउने तयारी गरेको देखिन्छ।
यदि प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएर अवरोध गरेमा त्यसको प्रभाव जेठ १५ को बजेटमा पर्ने नै छ। यसले सत्ताधारी दलहरू समेत दबाबमा परेका छन्।
पार्टीका तीन नेतासँगै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलहरूले राजीनामा मागेकाले गृहमन्त्री लेखक भने दबाबमा छन्। उनले यसबारे मंगलबारको प्रतिनिधि सभाको बैठकमा जानकारी दिने तयारी गरेका छन्।
जेठ १२, २०८२ सोमबार १६:५४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।