‘एआई स्ट्राटेजिस्ट’ ले जित्यो विश्वको पहिलो रोबोट फाइटिङ

एजेन्सी : पूर्वी चीनको हाङझाउ शहरमा आइतबार आयोजित विश्वकै पहिलो मानवोइड रोबोट फाइटिङ प्रतियोगिता निकै रोमाञ्चक रह्यो। ‘एआई स्ट्राटेजिस्ट’ नामक रोबोटले शानदार प्रदर्शन गर्दै पहिलो च्याम्पियनको उपाधि हात पार्न सफल भयो।
चाइना मिडिया ग्रुप द्वारा आयोजित ‘वल्र्ड रोबोट कन्टेस्ट: मेक कम्ब्याट एरिना’ नाम दिइएको यो प्रतियोगिता आइतबार साँझ सुरु भएको थियो।
फाइटिङ खेल तीन राउन्डमा विभाजित गरिएको थियो, जहाँ प्रत्येक राउन्ड दुई मिनेटको हुन्थ्यो। अंक निर्धारण प्रणाली पनि विशेष थियो। हातले प्रहार गर्दा १ अंक, खुट्टाले प्रहार गर्दा ३ अंक, टाउको वा धक्का प्रहार मान्य थियो। नकडाउन गर्दा ५ अंकको पेनाल्टी दिइन्थ्यो भने ८ सेकेन्डभित्र उठ्न नसकेमा थप १० अंकको पेनाल्टीका साथ अयोग्यता घोषणा गरिन्थ्यो।
प्रतियोगिताको पहिलो खेलमा लु जिनद्वारा सञ्चालित ‘एआई स्ट्राटेजिस्ट’ र जिओ टियान्कीको ‘सिल्क आर्टिसन’ बीच प्रतिस्पर्धा भएको थियो।
पहिलो राउन्डमा ‘सिल्क आर्टिसन’ ले चतुर साइड किक र लेग स्ट्राइकमार्फत अग्रता लिएको थियो। दोस्रो राउन्डमा दुबै रोबोट घुँडा प्रहारमा आक्रामक देखिए। तर निर्णायक तेस्रो राउन्डमा ‘एआई स्ट्राटेजिस्ट’ ले जबरजस्त घुँडाको प्रहार गर्दै बाजी पल्टायो र जित निकालेको हो।
त्यसपछि भएको दोस्रो खेलमा, चेन लियाङयूले सञ्चालन गरेको ‘आर्मर्ड मुलान’ र हु युनकियानको ‘एनर्जी गार्जियन’ भिडे। यस खेलमा पनि उत्साहजनक प्रहारहरू देखिएका थिए।
अन्तिम फाइनल भिडन्तमा भने लुको ‘एआई स्ट्राटेजिस्ट’ ले तीनै राउन्डमा ‘एनर्जी गार्जियन’लाई नकआउट गर्दै उपाधिमा कब्जा जमायो।
जेठ १२, २०८२ सोमबार १६:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।