गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं : नेपाली नागरिकलाई अध्यागमनमार्फत भिजिट भिषामा विदेश पठाउने प्रकरणमा गृहमन्त्रालयका कर्मचारीहरूको संलग्नता देखिएको भन्दै माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको पार्टीको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सबैतिरबाट आवाज उठ्दैछ, गृहमन्त्रालयकै कर्मचारीहरू संलग्न रहेको भनिएको छ। यस्तो अवस्थामा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानबिनको बाटो खोल्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो।’ 

उनले थपे, ‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामाको माग उठिरहेको छ। हामीले पनि यही निष्कर्ष निकालेका छौं-रमेश लेखकले अब मार्गप्रशस्त गर्नुपर्छ। पहुँच, प्रभाव र पावर प्रयोग हुनुहुँदैन। निष्पक्ष छानबिनका लागि उहाँको राजीनामा अपरिहार्य देखिन्छ।’

त्यसैगरी सापकोटाले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्रित अभियानले राष्ट्रिय एकता र जनजीविकाका विषयमा नयाँ अध्ययन र अनुसन्धान गर्न सक्ने मजबुत आधार तयार भएको समेत बताए।

जेठ १२, २०८२ सोमबार १५:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।