तीनकुने घटनाका अभियुक्तहरूको अदालती बयान सुरु, राज्य विरुद्ध र आपराधिक उपद्रवमा फरक इजलासमा बयान
काठमाडौं : जिल्ला अदालत काठमाडौँको छुट्टा छुट्टै इजलासमा तीनकुने घटना र भाटभटेनी लुटपाटका अभियुक्तहरूको बयान सुरु भएको छ। तीनकुने घटनामा राज्य विरुद्धको कसुर लगायत पाँच कसुर लागेका ५० जनाको न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान भइरहेको छ।
सोही दिन भएको भाटभटेनी लुटपाटमा संलग्न रहेको अभियोग लागेका ११ जनाको न्यायाधीश पदमराज पाण्डेको इजलासमा बयान भइरहेको छ। बुधवार राज्य विरुद्धको कसुरसहितका अभियुक्त दुर्गा प्रसाईसहितको बयान भइरहेको छ।
अभियोगमा उनलाई घटनाको मुख्य अभियुक्तको अभियोग लगाएर आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो। अभियोग पत्रमा अभियुक्त रहेका रवीन्द्र मिश्र र धवल शमशेर राणासहित ११ जना फरार छन्।
धवल भारतमा उपचारको फलोअपका लागि प्रहरी कार्यालयबाटै हाजिर जमानीमा रिहा भएका थिए। मिश्र बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतको आदेशमा प्रहरी हिरासत मुक्त भएका थिए। तर अभियोग पत्र लैजाँदा भने यी दुवै फरार भए।
चैत १५ मा तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने करोडौँको नीजि तथा सार्वजनिक सम्पत्ती तोडफोड भएको थियो।
जेठ १२, २०८२ सोमबार १५:११:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।