सुनकोशीमा डुबेका १६ वर्षीय सविन तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाउने तयारी

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राई सुनकोशीमा डुबेको तीन दिन बित्दासमेत अझै फेला परेका छैनन्। शनिबार बिहान करिब ११ बजे तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्ने क्रममा सविन डुबेर बेपत्ता भएका हुन्।
ओख्लाङका विन्द्रकेशर राईका छोरा सविन धामी लिन भनेर १५ वर्षीय साथी सागर राईसँग डिकुवा गएका थिए। बाटोमा सुनकोशी किनार पुगेर उनीहरू पौडी खेल्न नदीमा पसेका थिए। त्यही बेला सविन बेपत्ता भए।
बेपत्ता सविनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र आफन्तहरूले अहोरात्र प्रयास गरिरहे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन। इलाका प्रहरी कार्यालय हलेसी, च्यास्मिटार प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय खोटाङको टोली घटनास्थलमा खटिएको छ।
डिकुवाका वडाध्यक्ष देवेन्द्र राईका अनुसार घटना भए लगत्तै खोजी कार्य सुरु गरिए पनि सफलता मिल्न सकेको छैन।
‘हामीले खोजी कार्यमा तीव्रता दिन गोताखोर बोलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छौँ,’ नगरप्रमुख विमला राईले भनिन्।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार अहिले गोताखोर बोलाउने विषयमा छलफल भइरहेको छ।
सविन च्यास्मिटार माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।
जेठ १२, २०८२ सोमबार १४:५७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।