पाँच बुँदे सहमति गरेर एक भए माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी

पाँच बुँदे सहमति गरेर एक भए माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी

काठमाडौं : माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता भएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई दलबीच सहमति हस्ताक्षर र पत्र आदानप्रदान गरिएको हो।

एकतासँगै दुवै पार्टीबीच सांगठानिक समायोजनका विषयमा पनि ठोस सहमति बनेको छ। सहमतिअनुसार माओवादी केन्द्रको मार्गदर्शन सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद नै हुने छ भने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर समाजवादी क्रान्तिको कार्यक्रम अघि बढाइने बताइएको छ।

पार्टीले सडक, सदन र सरकार सबै क्षेत्रमा संघर्षलाई समानान्तर रुपमा अघि बढाउने जनाएको छ। तत्कालका रणनीति र कार्यक्रम पार्टीभित्र छलफल र सहमतिको आधारमा तय गरिने छ।

पार्टीमा विचारको स्वतन्त्रता रहने र काममा एकरूपता सुनिश्चित गरिने बताइएको छ। कतिपय वैचारिक विषयमा भने महाधिवेशनसम्म छलफलको स्पेस खुला राखिने सहमतिमा भनिएको छ।

पार्टी समायोजनको नेतृत्व गरेका गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ भने नेपाल समाजवादी पार्टीबाट आएका अन्य सबै सदस्यहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ।

यस्ता छन् सहमतिका पाँच बुँदाः

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुनेछ ।

२. पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ ।

३. समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ । तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।

४. पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ । कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पक्तिभित्र छलफल गर्न सकिने छ ।

५. पार्टी समायोजनको नेतृत्व गर्नुभएका क।गंगानारायण श्रेष्ठलाई नेकपा माओवाद केन्द्रको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेबारी सहितको कार्यविभाजन गरिनेछ ।

जेठ १२, २०८२ सोमबार १४:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।