उद्यमी मलिकाको प्रसव पीडा र खुसी : तीन दिन व्यथा लाग्दा भाग्यले बाँचेँ, अत्ति भएपछि अप्रेशन नै गरिदिनु भनेँ

लामो समय कृषि व्यवसायमा बिताएकी मलिका संगत घरेलु उद्यमी भएको धेरै भएको छैन। तिहारको खाली समयमा दियो बनाएर घरेलु उद्यम सुरू गरेकी उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। सबैको प्रोत्साहन र राम्रो व्यापारका कारण उनी अहिले निकै खुसी छिन्।
सामान बनाउने, प्याकिङ गर्नेदेखि डेलिभरीसम्म उनी आफैँले गरिरहेकी छिन्। साप्ताहिक रूपमा हरेक शुक्रबार ठमेलको छायाँ सेन्टर र शनिबार बौद्धको उत्पलामा उनको स्टलसमेत लाग्ने गर्छ। त्यसबाहेक विभिन्न महोत्सवहरूमा समेत उनको सहभागिता बढ्दै गएको छ।
ललितपुरको बालकुमारीमा आयोजित महोत्सवमा पहिलो पटक आफ्नो उत्पादनको प्रदर्शन गरेकी उनले अहिलेसम्म दर्जनौं महोत्सवमा भाग लिइसकेकी छिन्। डडेल्धुरामा समेत उनीहरूको स्थानीय उत्पादनको व्यापार छ। उनका श्रीमान्ले उतैबाट उनलाई यस व्यवसायमा साथ दिइरहेका छन्।
डडेल्धुरामा नै केही गर्ने मनसायका साथ काठमाडौंबाट गएकी उनी आफ्नो सन्तानको पढाइका लागि फेरि यहीँ नै फर्किएकी रहिछिन्। अहिले सन्तानको पढाइसँगै आफ्नो उद्यम समेत फस्टाउँदै गरेको देख्दा उनी दङ्ग छिन्। उनै उद्यमी मलिकाले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:
०००
काठमाडौंका मान्छेहरूलाई बाहिर जिल्लाका सामानहरूको निकै माग हुने रहेछ। त्यही भएर मैले सुदूरपश्चिमका खानेकुराहरूमा बढी जोड दिएँ। कर्णालीको खाद्यबारे धेरै मानिस जानकार भए पनि सुदूरपश्चिमको खाद्यबारे अझै धेरै जानकारी नभएको पाएँ।
आफ्नो व्यापार र बजारीकरण समेत आफैँले गरेको कारण म आफैँले पनि यसबारे धेरै ज्ञान फराकिलो बनाउन पाएँ। बेसार, काँक्रो, मस्यौरा, सातु र अझ विशेषगरी गुन्द्रुक मेरो एकदम राम्रो बिक्री हुने गरेको छ। गुन्द्रुक बनाउने तालिम दिनका लागि समेत वडा कार्यालयहरूले जिम्मेवारी दिने गरेका छन्।
म काठमाडौंको सिफलमा जन्मिएँ। हामी सात दिदी बहिनीपछि एक भाइ जन्मिएका छौँ। म परिवारको दोस्रो सन्तान। ठूली दिदीसँगै मैले पनि सानैदेखि घरको जिम्मेवारीमा सहयोग गर्नुपर्यो। दिदी बहिनीहरूका बीचमा हाम्रो बाल्यकालमा त्यति धेरै समस्या भने आएन।
प्लस टु सकेपछि म वैदेशिक रोजगारीका लागि इजरायल पुगेँ। त्यहाँ हुँदा कृषिका केही कामहरूलाई नजिकबाट हेर्न पाएकी थिएँ। नेपालमा पनि त्यो गर्न सक्छु जस्तो लाग्यो। अनि त्यहीँ नै मैले आफ्नो श्रीमान्लाई समेत भेटेँ।
विवाहकै लागि हामी नेपाल फर्किएका थियौँ। हाम्रो अन्तर्जातीय विवाह भएको हो। सुरूमा अलि-अलि अप्ठ्यारो भए पनि पछि परिवारको सहमतिमा नै हामीले विवाह गर्यौँ। म नेवार समुदायकी हुँ भने उहाँ क्षेत्री हुनुहुन्छ।
बिहेपछि हामीले मुलपानीमा जग्गा भाडामा लिएर कृषि गर्यौँ। पाँच वर्षपछि कोभिड महामारी फैलियो। अनि हामीले डडेल्धुरा नै रोज्नुपरेको थियो। बिहेपछि कसैको दबाबभन्दा पनि म आफैँले एउटा सीमितताको महसुस गरेँ। अनि जसरी हुन्छ बुहारी भए पनि केही गरेर देखाउनुपर्छ भन्ने हुटहुटी जागेर आयो।
बिहेलगत्तै हाम्रो सन्तान पनि भइहाल्यो। एकदमै नसोचेको भयो जस्तो लागेको थियो। आर्थिक हिसाबले सबल हुन बाँकी थियो। धेरै कामहरू बाँकी थिए। आफैँ मानसिक रूपमा तयार हुनुपर्ने थियो। अहिले सोच्दा पनि त्यसबेला हामी पूर्ण रूपमा तयार थिएनौँ जस्तो लाग्छ।
गर्भवती भएको पहिलो पटक थाहा पाउँदा मलाई त रुन आएको थियो। के गर्ने, कसरी गर्ने भनेर निकै आत्तिएकी थिएँ। श्रीमान्ले ‘ठीकै छ, केही अप्ठ्यारो भएको छैन। हामी पूर्ण रूपमा सक्षम नहुँदासम्म सन्तानको चाहना नहुन पनि सक्थ्यो’ भनेर सान्त्वना दिनुहुन्थ्यो।
अहिले सोच्दा फेरि त्यो पनि हो जस्तो लाग्छ। किनभने मान्छेको जीवनमा अभाव त रहन्छ नै। पूर्ण रूपमा सन्तुष्ट हुन त धेरै परको कुरा हो। तर त्यसबेला म निकै रोएकी थिएँ। खासै खुसी हुन सकिरहेकी थिइनँ। त्यही भएर पनि मैले मेरो गर्भावस्था रमणीय मान्न सकिनँ।
गर्भवती भएदेखि झन् बढी सक्रिय भएर सबै कामहरू गर्न मन लाग्थ्यो। एक्लै बस्न मन लाग्दैनथ्यो। खाना त फिटिक्कै खान मन लाग्दैनथ्यो। कसैले ‘खाना खाउ’ भन्यो भने पनि मलाई रिस उठ्थ्यो। अहिले पनि अचम्म लाग्छ। आमाले त्यस्तो अवस्थामा केही नखाए पनि बच्चा कसरी बाँचिरहेको हुन्छ।
पूरै नौ महिनासम्म खाना नरुच्दा त म आफैँ कसरी बाँचिरहेकी छु भन्नेसम्म थियो। खाना नरुचेको कारण म शारीरिक रूपमा निकै कमजोर भएकी थिएँ। फलफूलहरू कहिले रुच्थ्यो, कहिले रुच्दैनथ्यो। एक दिन गनेर खाँदा त १७ वटासम्म आँप खाएछु। खानपिन नमिलेर हो कि, मानसिक रूपमा पनि म त्यसबखत निकै चिन्तित भइरहेँ।
हामी दुई जना राम्रोसँग सक्षम भइसकेका थिएनौँ। तेस्रोलाई हामीले कसरी सम्हाल्ने होला भन्ने पनि दिमागमा चलिरहन्थ्यो। तर जे होस्, ‘मैले पढेको भन्दा राम्रो पढाउँछु, मैले खाएको भन्दा राम्रो खुवाउँछु’ भन्ने लाग्ने रहेछ। एक हिसाबले निकै मिश्रित भावनाहरू मनमा खेल्थ्यो।
जन्मिने बेलासम्म बाबुको तौल नै पुगेको थिएन। उसको तौल नपुगेको कारण डेलिभरी डेट पनि सार्नुपर्यो। जसोतसो तीन केजी तौल पुगेपछि हस्पिटलले मलाई भर्ना लियो। बच्चाको तौल पुगे पनि आमा शारीरिक रूपमा कमजोर नै भएको कारण अप्रेशन गर्नुपर्ने भयो।
त्यसबेला मैले धेरै दुःख पाएँ, अहिलेसम्म नराम्रो छाप बसेको छ। शुक्रबार राति हस्पिटल भर्ना भएकी थिएँ, आइतबार बेलुका मात्र बाबु जन्मियो। सकेसम्म प्राकृतिक रूपमा नै जन्मिओस् भन्ने थियो। तर, कुनै पनि समयमा अप्रेशन गर्नुपर्ने हुनसक्छ भनेपछि जाउलो र जीवनजल मात्र खाएँ हस्पिटलमा।
त्यसले गर्दा पनि मेरो ज्यानमा शक्ति नै रहनेछ। तीन दिन प्रसव व्यथा लाग्दा भाग्यले बाँचेँ जस्तो लाग्यो। पछि अप्रेशन नै गरिदिनुहोस् भनेँ अनि मात्र अप्रेशनको तयारी भयो। एनेस्थेसिया लगाएपछि म होशमै रहूँ भनेर डाक्टरले मसँग कुरा गरिरहनुभएको याद छ।
त्यसबेला संविधान घोषणा भएको कारण बाहिर निकै पटाकाहरू पड्किएको आवाज पनि सुनिरहेकी थिएँ। म सिभिल हस्पिटलको अप्रेशन कक्षभित्र थिएँ भने बाहिर संसद भवन थियो। त्यहाँ अलि बढी नै आवाज आयो। एक पटक त यति ठूलो आवाज आयो कि डाक्टरले ‘बम नै पड्कायो कि क्या हो!’ भन्नुभयो।
एक जना डाक्टरले सिस्टरलाई बाहिर हेर्न जान लाग्दा मैले ‘मलाई छोडेर बाहिर नजानुहोस्’ पनि भनेँ। त्यो बेला मलाई निकै गाह्रो भएको थियो। कोख भाडामा लिएर बच्चा जन्माउने कुरा पनि त्यसबेला निकै चलिरहेको थियो। मैले त ‘ओहो, यति कष्ट हुने रहेछ। मान्छेहरूले कसरी भाडामा लिएर जन्म दिन मान्छन् होला!’ भन्ने सोचेँ।
डाक्टरले ‘छोरा चाहिन्छ कि छोरी?’ भनिरहनुभएको थियो। मलाई भित्रै मनदेखि छोरी होस् भन्ने लागेको थियो। फेरि ‘उसले पनि आमा बन्दाको यो दुःख सहनुपर्छ’ भनेर छोरा होस् भनेँ। मलाई त त्यसबेला बाँच्छु जस्तो पनि लागेको थिएन। पछि त्यहाँ बत्ती बलेपछि ‘म बाँचेँ’ भन्ने लाग्यो।
संविधान घोषणा भएको दिनमा जन्मिएको भएर डाक्टरले ‘बाबुको नाम पनि संविधान राख्नुहोस् है’ भन्नुभएको थियो। डाक्टरले त्यसो भन्दै गर्दा छोरा भएछ भन्ने लाग्यो। मसँग नजिक बस्नुभएको सिस्टर निकै राम्रो हुनुहुन्थ्यो। उहाँलाई देखेर ‘मेरो पनि यस्तै छोरी होस्’ भन्ने पनि दिमागमा नआएको होइन।
त्यो क्षण गाह्रो पनि थियो, रमाइलो पनि थियो। श्रीमान् बाहिर हुनुहुन्थ्यो। अनेकौँ कुराहरू मनमा खेलिरह्यो। बाबुलाई पहिलो पटक देख्दा त विश्वास नै लागेको थिएन, मैले कसैलाई जन्म दिएँ भनेर। कस्तो प्रतिक्रिया दिने भनेर एकछिन त अलमल भयो। पछि त संसार नै हातमा आएको जस्तो हुने रहेछ। तीन दिन हस्पिटलमा बसेपछि हामी फर्कियौँ।
मेरो ममीले सबै हेर्नुभयो। तर, स्तनपानमा फेरि अर्को समस्या भयो। बाबुलाई जन्म दिएपछि म निकै शिथिल भएकी थिएँ। सुतेको सुत्यै भएछु। बाबुलाई दूध पनि सुरुमा खुवाइहाल्नुपर्छ भनेर थाहा भएन।
हस्पिटलमा नै दायाँबायाँ अरूले ‘बहिनी त जतिखेर पनि सुतिरहेको देख्छु। उसलाई धेरै गाह्रो भयो होला। बच्चालाई दूध पनि खुवाउन सकेन’ भनेपछि यसो हेर्दा दूध त आएर पनि प्वालहरू थुनिएका रहेछन्। अनि जति खुवाउने प्रयास गरे पनि बच्चाले दूध तान्नै सकेन।
पछि पम्प ल्याएर तान्ने प्रयास पनि गरेको तर बच्चाले आफैँ दूध तान्न मान्दै मानेन। उसले नखाएको तीन महिनापछि त मेरो दूध नै ठप्प सुक्यो। मैले उसलाई आफ्नो दूध खुवाउन नपाएकोमा अहिले पनि नराम्रो लाग्छ। बाहिरको दूध महँगो पनि भयो हामीलाई।
अहिले बरु बाबुले पनि ‘मैले मामुको बुबु नै खान पाइनँ’ भन्ने गर्छ। त्यो बेला त्यति धेरै गाह्रो भए पनि भगवानको कृपाले मलाई बच्चा हुर्काउन गाह्रो भएन। यसमा श्रीमान् र ममीले पूरै हेरचाह गर्नुभयो। सुत्केरी स्याहारमा कसैले पनि कमी राख्नुभएन। अप्रेशन गरेको कारण पछि पनि समय-समयमा अप्ठ्यारो चाहिँ भएको थियो।
त्यही भएर पनि मैले अर्को सन्तानको बारेमा सोचिनँ। श्रीमान्ले ‘बाबुलाई एउटा साथी त चाहिन्छ’ भन्नुभएको त थियो। तर मलाई ‘होइन, मानेदेखि सबै आफ्नै हो। आफ्नै कोखबाट जन्माउनुपर्छ भन्ने छैन’ भन्थेँ। अहिले त उहाँले पनि इच्छा गर्नुभएको छैन।
मलाई त अब पुग्यो भन्ने नै छ। एक जना छ, जे दिन सकिन्छ उसलाई राम्रो दिऊँ भन्ने लाग्छ। सानोमा बाबुले हाम्रो मुलपानीको कृषि फार्ममा समय बिताउन पायो, त्यो देखेर मलाई खुसी लाग्छ। उसले माटो खेलेको छ भन्ने कुरामा रमाइलो लाग्छ। उसलाई बोकेर पनि मैले धेरै काम गरेँ।
बरु अहिले उसलाई धेरै समय दिन सकिरहेकी छैन। त्यही भएर उसले अहिले एक्लो महसुस गरेको हो कि जस्तो पनि लाग्छ। अनि फेरि एक मनले चाहिँ बच्चालाई सधैँ अरूमा भर पर्न दिनुहुँदैन भन्ने लाग्छ। पछिल्लो समय सकेको जति काम आफैँ गर्न सक्ने भएको छ।
कहिलेकाहीँ ‘घुमाउन लगिनँ’ भनेर उसले गुनासो पनि गर्छ। समय मिलाएर घुमाउन पनि लैजाने गर्छु। उसलाई मैले अरू केही दिन नसके पनि एउटा गुणस्तरीय शिक्षा चाहिँ दिने वातावरण दिन्छु भनेर म स्पष्ट छु। उसले चाहेको काममा दिल खोलेर सपोर्ट गर्नका लागि म आफैँ पनि सक्षम हुने प्रयासमा छु।
आमा भएपछि म झन् बलियो र जिम्मेवार भएको जस्तो पनि लाग्छ। आफ्नो भन्दा बढी उसको बारेमा सोचिरहेकी हुन्छु। सबै माया बाबुमा सरेको जस्तो लाग्छ। अहिले बाबु नौ वर्षको भयो। यो नौ वर्ष मेरो लागि एकदम मिश्रित अनुभव रह्यो।
उसकै लागि भनेर धेरै संघर्ष गर्नका लागि आफू तयार हुँदै छु। कामहरू पनि राम्रो हुँदै छ। अहिलेको मेरो स्थानीय उत्पादनको उद्यम फस्टायो अनि बाबुले चाह्यो भने उसलाई पनि यो बारे धेरै कुरा सिकाउँछु भन्ने लागेको छ। भोलि उसले चाहेमा ‘हाम्रो पनि केही छ है’ भन्ने बाटो बनाइदिन पाए पुग्छ।
जेठ १२, २०८२ सोमबार १३:४३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।