कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दिदी-भाइको मृत्यु

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दिदी-भाइको मृत्यु
सांकेतिक तस्बिर

बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ जयनगरमा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी-भाइको ज्यान गएको छ।

खाना बनाउने क्रममा ग्यासको रेगुलेटरबाट ग्यास लिक भई आगलागी हुँदा पर्शुराम यादवका २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको हो।

यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे आगलागीबाट गम्भीर घाइते उनीहरुको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताए।

आगालागीबाट अन्य भौतिक क्षति नभए पनि शिव कुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।

दुवै गम्भीर घाइतेलाई उपचारका लागि तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगिएको थियो। तर, शिवकुमारलाई थप उपचारका भारतको गोरखपुर मेडिकल कलेजमा लगिएको थियो।

सोनमको भैरहवा र शिवकुमारको गोरखपुर लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जेठ १२, २०८२ सोमबार १३:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।