सुवेदी नेतृत्वको जनआन्दोलन समितिले भन्यो- एमालेले काठमाडौं कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक र गैरजिम्मेवार

सुवेदी नेतृत्वको जनआन्दोलन समितिले भन्यो- एमालेले काठमाडौं कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक र गैरजिम्मेवार

काठमाडौं : नवराज सुवेदी संयोजक रहेको ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति’प्रति आपत्ति जनाएको छ।

सोमबार प्रेस विज्ञप्ति निकालेर समितिले जेठ १५ गतदेखि सुरू गर्न लागिएको आन्दोलनलाई लक्षित गर्दै ओलीले दिएको उत्तेजक अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाट नै द्वन्द भड्काउने खालका अभिव्यक्तिहरु आउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत रहेको छ।’

शनिबार गोदावरीमा आयोजित एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।

उनले भनेका थिए, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्।’

प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिका बावजुद आफूहरुको आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने भन्दै समितिले भद्र अवज्ञा र सत्याग्रह आफूहरुको आन्दोलनको स्वरुप भएको स्पष्ट पारेको छ।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा जनताको चाहना अनुरूप संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्ने, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र  सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने भन्दै समितिले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ गर्दैछ।

जेठ १२, २०८२ सोमबार १३:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।