सरकारी जागिरसँगै व्यावसायिक खेतीमा टीकाराम, कृषिको आम्दानी तलबभन्दा पाँच लाख बढी

सरकारी जागिरसँगै व्यावसायिक खेतीमा टीकाराम, कृषिको आम्दानी तलबभन्दा पाँच लाख बढी

सुर्खेत : बिहान कार्यालयको कुर्सीमा फाइल पल्टाउने, साँझ खेतबारीमा पसिना बगाउने। यो सुर्खेतको पञ्चपुरी नगरपालिका-५, टाँटीका ५५ वर्षीय टीकाराम खरालको दैनिकी हो।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नगरपालिकाको प्रशासन कार्यालयमा सामाजिक परिचालकका रूपमा खटिने उनलाई बाँकी समय आफ्नै खेतबारी र पशुपक्षी फार्ममा बिताउँछन्।

सरकारी जागिरको जिम्मेवारी र कृषि प्रतिको गहिरो मोहलाई सँगसँगै डोहोर्याइरहेका खरालले कृषिमा भविष्य देख्नेहरूका लागि उदाहरण प्रस्तुत गरेका छन् भने ‘कृषिमा केही छैन’ भन्नेहरूलाई गतिलो जवाफ फर्काएका छन्।

खरालको बुवाआमा पनि परम्परागत कृषि पेशामै संलग्न थिए। बाल्यकालदेखि नै उनी बुवाआमासँगै बारीमा काम गर्थे र माटोसँग खेल्दा रमाउँथे। कृषिप्रति उनको रुचि सानैदेखि थियो। परिवारको अवस्थाले सरकारी सेवामा प्रवेश गरे पनि कृषिप्रतिको उनको मोह मरेन।

बरु २०५२ सालदेखि उनले यसलाई व्यावसायिक रूप दिन थाले। परम्परागत खेती प्रणालीलाई वैज्ञानिक र आधुनिक पद्धतिमा ढाल्ने दृढ संकल्पका साथ उनले २०६५ सालमा ‘पोषण कृषि तथा पशुपंक्षी पालन फार्म’ स्थापना गरे।

सुरुवाती दिनमा एक्लै सबै कुराको जोहो गर्न गाह्रो भए पनि उनको प्रयास निरन्तर रह्यो। फार्ममा गाई, भैँसी, बाख्रा, कुखुरा, टर्की, कालिज, मजुर, माछा र लोकल कुखुरा पालेका छन्। अहिले दुईवटा भैँसीले नियमित दूध दिइरहेका छन् भने दुई वटा ब्याउने अवस्थामा छन्।

खेतीपातीतर्फ च्याउ, काँक्रा, लिच्ची, ड्रागन फ्रुट, सिमी र बोडी जस्ता तरकारी र फलफूलले बारी हरियाली बनेको छ। सबै उत्पादनमा विषादीको प्रयोग नगरिने भएकाले स्थानीय बजारमा उनको उत्पादनको माग सधैँ उच्च छ।

तलबभन्दा बढी आम्दानी कृषिबाटै
सरकारी सेवाबाट खरालले मासिक २१ हजार रुपैयाँ तलब बुझ्छन्। यसबाट वार्षिक कमाइ तीन लाख पुग्न पनि मुस्किल हुन्छ। तर, उनको जीवनको मुख्य आर्थिक आधार कृषि नै बनेको छ। कृषि फार्मबाट मात्रै उनी वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।

बिहान सरकारी कार्यालय, साँझ फार्मको काम- यो दिनचर्यालाई उनले वर्षौंदेखि उत्तिकै ऊर्जा र लगनशीलताका साथ निरन्तरता दिइरहेका छन्। सरकारी कामप्रतिको इमान्दारी र कृषिप्रतिको अगाध मोहले नै उनलाई यो सफलताको उचाइमा पुर्याएको हो।

खराल घरका एक्ला छोराका रूपमा ७६ वर्षीया आमा, श्रीमती र तीन छोराछोरीको जिम्मेवारी बहन गर्दै आएका छन्। एक छोरा र दुई छोरीमध्ये छोराले अर्थशास्त्रमा स्नातकोत्तर, जेठी छोरीले व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेका छन् भने कान्छी छोरीले व्यवस्थापनमै स्नातक गरिरहेकी छन्।

काठमाडौंजस्तो महँगो शहरमा छोराछोरीलाई उच्च शिक्षा दिलाउन सक्नुमा टीकारामले कृषिको ठूलो योगदान रहेको बताउँछन्।

उनी भन्छन्, ‘कृषिबाटै छोराछोरीको पढाइ खर्च, घरको दैनिक खर्च र भविष्यको योजना चलिरहेको छ। विगतमा केही समय संघसंस्थामा पनि काम गरेँ, तर जीवनको मूल स्रोत र आधार कृषि नै बन्यो। अब कृषिलाई अझ व्यवस्थित बनाएर अगाडि बढ्ने सोच बनाएको छु।’

अहिले धेरै कृषक सरकारी अनुदानको मुख ताक्छन्। तर, खरालले थोरै सहयोगमा पनि ठूलो सम्भावना देख्ने र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिन्छन्।

उनी भन्छन्, ‘साना संस्थाबाट कहिलेकाहीँ एक दुई लाख अनुदान त पाइन्छ तर कृषि कर्ममा आत्मनिर्भरता ल्याउन सरकारी सहयोगको पर्खाइमा बसिरहनु पर्दैन। जसले गर्न जान्दछ, उसले आम्दानी लुकाउन सक्दैन।’

युवापुस्तालाई कृषि हेप्ने प्रवृत्तिप्रति उनको गुनासो छ।

उनी भन्छन्, ‘युवाहरूले कृषिप्रति वेवास्ता गर्नु हुँदैन। काम गर्न तयार भए यही माटोबाटै सुन फल्छ। विदेश जाने सपना देख्नुअघि हामी आफ्नो भूमिमा पसिना बगाउन तयार छौँ कि छैनौँ भन्ने प्रश्न आफैंसँग सोध्नुपर्छ।’

ग्रामीण भेगमा कृषिको अपार सम्भावना रहेको भन्दै उनी अहिले पनि भारतबाट ठूलो मात्रामा फलफूल र तरकारी आयात भइरहेको सुनाउँछन्। गाउँमा सबैले मिलेर कृषि उत्पादन गरे स्थानीय बजारमा नै खपत गरेर राम्रो आम्दानी गर्न सकिने उनको अनुभव र सुझाव छ।

जेठ १२, २०८२ सोमबार १२:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।