बुटवलको तीन किलोमिटर सडक निर्माणले गति लिएपछि ‘लाज पचाउँदै’ जस लिने होडबाजीमा कांग्रेस-एमाले

बुटवल : बुटवलको मुख्य भाग मानिने राजमार्ग चौराहदेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक विगत नौ वर्षदेखि अलपत्र थियो। विभिन्न कारणले निर्माण सुस्त रहेको यो सडकमा पछिल्लो समय कामले तीव्रता पाएपछि प्रमुख राजनीतिक दलहरूबीच जस लिने होडबाजी चलेको छ।
लामो समयसम्म सडक क्षेत्रभित्र पर्ने घरधनीहरूले अदालतमा हालेको मुद्दा, ठेकेदारको ढिलासुस्ती तथा स्थानीयस्तरबाट भएको अवरोधका कारण यो सडक निर्माणले गति लिन सकेको थिएन। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकका कारण बुटवलवासी लामो समयसम्म आजित बनेका थिए।
अहिले सडक निर्माणको कामले तीव्रता पाएसँगै एमाले र नेपाली कांग्रेसका स्थानीय नेताहरू आफ्नो पहलमा काम भइरहेको दाबी गर्दै जस लिने प्रतिस्पर्धामा उत्रिएका छन्।
कांग्रेसको दाबी : ‘हामी जे बोल्छौं, त्यो गर्छौं’
विशेषगरी गत स्थानीय तहको निर्वाचनमा यसै सडकलाई मुख्य चुनावी मुद्दा बनाएको नेपाली कांग्रेस काम अगाडि बढेपछि जस लिने अग्रपंक्तिमा देखिएको छ। आश्चर्यको कुरा त के छ भने, जनप्रतिनिधि नहुँदा घर भत्काउनुपर्ने भन्दै सडक अवरुद्ध गर्न घरधनीहरूलाई उचाल्न सहयोग नगरेको आरोप लाग्ने अहिलेका नगरप्रमुख खेलराज पाण्डेय र उहाँको पार्टीले ‘नेपाली कांग्रेस जे गर्छ त्यो बोल्छ, जे बोल्छ त्यो गर्छ’ भन्दै जस लिइरहेका छन्।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योति भण्डारीले सामाजिक सञ्जालमा तस्बिर राख्दै स्थानीय निर्वाचनमा राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक बुटवलवासीले महसुस गर्ने गरी राम्रो बनाउन पहल गर्ने प्रतिवद्धता अनुसार काम भइरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति तथा नगर प्रमुख खेलराज पाण्डेयको मुख्य सक्रियता, नेपाली कांग्रेसका केन्द्रीय नेताको सहयोग तथा स्थानीय नेताहरूको सल्लाह बमोजिम तीव्र गतिमा मुख्य सडक निर्माण कार्य भइरहेको छ।’
नगरप्रमुख खेलराज पाण्डेयले पनि सडक निर्माणले गति लिँदा खुसी व्यक्त गर्दै आफूहरू निर्वाचित भएपछि सबैभन्दा बढी गुनासो सुनिएको यस सडकले गति लिँदा आनन्द लागेको बताएका छन्। उनले निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन्।
एमालेको दाबी : पौडेलको पहलकदमी नै प्रमुख
यता, एमाले पनि सडकको जस लिन पछि परेको छैन। एमालेका नेता मेघराज भट्टराईले सडक निर्माणले गति लिनुमा पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णुप्रसाद पौडेलको पहलकदमी र सक्रियता नै प्रमुख रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘हिजो सडक विस्तारमा अवरोध गर्ने, घरधनीहरूलाई उचालेर अदालतमा मुद्दा हाल्न लगाई काम रोक्ने र मानिसहरूलाई सडकमा उतारेर अवरोध सिर्जना गर्ने प्रवृत्तिहरूसँग सामना गरेर यो सडक निर्माणको काम यहाँसम्म आइपुगेको हो। यो सडकले गति लिनुमा यो सडकका परिकल्पनाकार र योजनाकार विष्णुप्रसाद पौडेलको पहलकदमी र सक्रियता नै प्रमुख हो।’
सडक निर्माण अवरोध गर्ने को-को?
अहिले जस लिने होडबाजी गरेका राजनीतिक दल एमाले र कांग्रेसले मात्र होइन, उद्योगी व्यवसायीले समेत सडक निर्माणमा अवरोध गरेका थिए। सडक क्षेत्र मिचेर बनेका घरहरू भत्काउने क्रममा स्थानीय राजनीतिक दलहरू (एमाले, कांग्रेस, माओवादी केन्द्र) र उद्योगी-व्यवसायी संघ-संस्थाहरूले संयुक्त विज्ञप्ति नै निकालेर विरोध गरेका थिए।
चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा रहेका करिब ३८४ घर सडक क्षेत्र मिचेर बनेकाले भत्काउन नहुने पक्षमा राजनीतिक दल र उद्योगी व्यवसायी उभिएका थिए। यसकै कारण लामो समयसम्म बुटवलको मुख्य सडक बन्न सकेन।
स्थानीय राजनीतिक दल र व्यवसायी स्वयंले विरोध गर्दै सडक अवरोध गर्नेहरूले पछि सरकारलाई नै दोष थुपारेका थिए। गएको स्थानीय तहको निर्वाचनमा यही सडकको दयनीय अवस्थालाई देखाएर कांग्रेसले चुनावी मुद्दा बनाएको थियो।
निर्वाचनको समयमा बुटवलको सडकको अवस्था निकै बेहाल थियो। राजमार्ग चौराहमा खाल्डा मात्र थिए भने अस्पताल लाइनमा त गाडीहरू फस्ने गर्दथे। व्यापारी र राजनीतिक दलबाट अवरोध रहेको यो सडकलाई तत्कालीन एमालेबाट निर्वाचित नगरप्रमुख शिवराज सुवेदीले काम गर्न नसकेको भन्दै चर्को आलोचना भयो।
यही सडकलाई मुख्य मुद्दा बनाएर गएको निर्वाचनमा एमालेका बाबुराम भट्टराईलाई पराजित गर्दै कांग्रेसका नगरप्रमुख खेलराज पाण्डेय मेयरमा निर्वाचित भएका हुन्। उनी स्वयं घर भत्काउन नहुने भन्दै व्यवसायीको पक्षमा कांग्रेस सभापतिको हैसियतमा हस्ताक्षर गर्दै विज्ञप्ति निकाल्ने व्यक्ति थिए।
त्यतिबेला प्रमुख तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्रको सडक खण्डलाई ६ लेनमा विस्तार गर्न नहुने तर्क थियो। तीन दललाई बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, राष्ट्रिय उद्योग व्यापार संगठन जस्ता व्यावसायिक संघ-संस्थाहरूले साथ दिएका थिए।
अहिले तिनै राजनीतिक दलहरूमध्ये एमाले र कांग्रेस लाजै पचाएर सडक निर्माणको जस लिने होडबाजीमा लागेका छन्।
अहिले धमाधम काम
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडकको काम अहिले धमाधम भइरहेको छ। विशेषगरी सर्भिस लेनतर्फ कालोपत्रेको काम भइरहेको छ।
डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले निर्माण कम्पनीले सडक निर्माणको काम तीव्र पारेको बताएका छन्। उनका अनुसार, अहिलेसम्म समग्रमा करिब २५ प्रतिशत काम सम्पन्न भएको छ भने नालीतर्फको काम ७० प्रतिशतभन्दा धेरै सकिएको छ।
बुटवलको मुख्य सडक निर्माणका लागि २०७३ चैत १७ गते कञ्चनजंघा बिरुवा जेभीसँग २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, ८ वर्षसम्म पटक-पटक म्याद थप्दा पनि काम नसकिएपछि २०८१ वैशाखमा सडक डिभिजन कार्यालयले उक्त ठेक्का रद्द गर्यो।
ठेक्का रद्द भएपछि २०८१ असोज १८ गते बावुल दर्शन मालिका जेभी भैरहवासँग १ वर्षभित्र काम सक्ने गरी भ्याटसहित ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता भएको हो। हालसम्म ठेकेदारले ३ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ।
सम्झौता अनुसार, सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ।
जेठ १२, २०८२ सोमबार १०:००:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।