ट्रम्पको आक्रोश : पुटिन ‘पूर्ण रूपमा पागल’, जेलेन्स्कीको बोलीले युक्रेन समस्यामा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले गरिरहेको निरन्तर बमबारीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भएको बताएका छन्।
ट्रम्पले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको पनि उल्लेख गरेका छन्। पुटिनबारे आफ्नो ‘ट्रुथ सोशल’ अकाउन्टमा पोस्ट गर्दै ट्रम्पले पुटिनले विना कारण युक्रेनी शहरहरूमा मिसाइल र ड्रोन आक्रमण गरेर धेरै सर्वसाधारणको ज्यान लिइरहेको बताएका छन्।
उनले लेखेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ। तर अहिले उनी पूर्ण रूपमा पागल भएका छन्। उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्। म सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन। युक्रेनी शहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार भइरहेका छन्।’
‘पुटिन युक्रेनको एक टुक्रा मात्र नभएर सम्पूर्ण युक्रेन चाहन्छन् भन्ने कुरा मैले यसअघि पनि भन्दै आएको छु। यो सत्य साबित हुन पनि सक्छ। यद्यपि उनले त्यसो गरे भने उनको पतन पक्का छ’, उनले थप लेखेका छन्।
यसैबीच, यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको ‘मौनता’ ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन गरिरहेको बताएपछि ट्रम्प जेलेन्स्कीविरुद्ध पनि खनिएका छन्।
उनले भनेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई राम्रो गरिरहेको छैन। उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ, मलाई यो मन पर्दैन, र यो बन्द भए राम्रो हुनेछ।’
आफ्नो पोस्टमा ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि निशाना बनाएका छन्।
उनले भनेका छन्, ‘यो त्यस्तो युद्ध हो जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरू हुने थिएन। यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन। म त केवल एउटा ठूलो संकटको सामना गर्न मद्दत गर्दैछु जुन घोर अक्षमता र मूर्खताबाट सुरू भएको थियो।’
जेठ १२, २०८२ सोमबार ०९:००:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।