कोलकातामाथि हैदराबादको ११० रनको विशाल जित

कोलकातामाथि हैदराबादको ११० रनको विशाल जित

हैदराबाद : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि ११० रनको विशाल जित हासिल गरेको छ। यो जितसँगै हैदराबादले १३ अंकका साथ सिजनको अन्त्य गरेको छ भने कोलकाता १२ अंकमा सीमित भएको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७८ रनको विशाल योगफल तयार गर्यो।

हैदराबादका लागि हेनरिक क्लासेनले शानदार ब्याटिङ गर्दै ३९ बलमा अविजित १०५ रन बनाए। उनको शतकीय पारीमा ७ चौका र ९ छक्का समावेश थियो।

ओपनर ट्राभिस हेडले पनि आक्रामक ब्याटिङ गर्दै ७६ रनको योगदान दिए।यस्तै, अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन जोडे।

कोलकाताका लागि सुनिल नारिनले २ विकेट लिए भने वैभव अरोराले १ विकेट हात पारे।

२७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स १८.४ ओभरमा १६८ रनमा अलआउट भयो। कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए। हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रनको योगदान दिए।

हैदराबादका लागि जयदेव उनादकट, हर्श दुबे र इशान मलिंगाले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए। उनादकटले ४ ओभरमा २४ रन, दुबेले ४ ओभरमा ३४ रन र मलिंगाले पनि किफायती बलिङ गरे।

यो जितसँगै सनराइजर्स हैदराबादले आफ्नो १४ खेलबाट १३ अंक जोड्दै सिजनको अन्त्य गरेको छ। पराजित कोलकाताको भने १४ खेलबाट १२ अंक मात्र रह्यो।

आईपीएल लिग चरणका अब दुई खेल मात्र बाँकी छन्। सोमबार पञ्जाब किंग्स र मुम्बई इन्डियन्स तथा मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ।

जेठ १२, २०८२ सोमबार ०८:०७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।