च्याम्पियन्स लिगमा छनोट भए सिटी, चेल्सी र न्युकासल

काठमाडौं : आइतबार राति सम्पन्न प्रिमियर लिगको अन्तिम चरणका खेलहरूसँगै आगामी सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने थप तीन क्लबको टुङ्गो लागेको छ।
च्याम्पियन लिभरपुल र दोस्रो स्थानको आर्सनलसँगै अब म्यानचेस्टर सिटी, चेल्सी र न्युकासल युनाइटेडले पनि च्याम्पियन्स लिग खेल्ने भएका छन्। अन्तिम खेलमा फुलहमलाई २-० ले पराजित गर्दै म्यानचेस्टर सिटी ३८ खेलबाट ७१ अंकसहित लिगमा तेस्रो स्थान हासिल गर्न सफल भयो।
त्यस्तै, चेल्सीले नटिङहम फरेस्टलाई १-० ले हराएर ६९ अंकका साथ चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनायो। यस नतिजापछि फरेस्ट भने ६५ अंकका साथ सातौं स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो।
न्युकासल युनाइटेड एभरटनसँग १-० ले पराजित भए पनि अन्य नतिजा आफ्नो पक्षमा आएपछि भाग्यमानी बन्दै पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट भएको छ। एस्टन भिल्ला र न्युकासल दुवैको समान ६६ अंक भए पनि गोल अन्तरमा न्युकासल अघि रह्यो। एस्टन भिल्ला अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग २-० ले पराजित हुँदा न्युकासललाई फाइदा पुग्यो।
यसअघि नै लिग च्याम्पियन बनिसकेको लिभरपुलले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै लिग सकायो र ट्रफी उचाल्यो।
दोस्रो स्थानको आर्सनलले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ।
अन्य खेलहरूमा ब्राइटनले टोटनहमलाई ४-१, वेष्टह्यामले इप्स्विच टाउनलाई ३-१ र लेस्टर सिटीले बर्नमाउथलाई २-० ले पराजित गरे। उल्भ्स र ब्रेन्टफोर्डबीचको खेल भने १-१ को बराबरीमा टुंगियो।
प्रिमियर लिगबाट शीर्ष पाँच स्थानमा रहेका क्लबहरूका साथै युरोपा लिगको उपाधि जितेको टोटनहम गरी कुल ६ क्लबले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्नेछन्।
जेठ १२, २०८२ सोमबार ०७:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।