पुसदेखि ठप्प फाप्लु-काठमाडौं उडान अब नियमित हुने

काठमाडौं : सोलुखुम्बुको फाप्लु विमानस्थलबाट अब सातामा चार दिन नियमित रूपमा काठमाडौं उडान हुने भएको छ। नेपाल एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने तालिका बनाएको छ।
नेपाल एयरलाइन्सको जहाजमा देखिएको प्राविधिक खराबीका कारण फाप्लु-काठमाडौं हवाई सेवा लामो समयदेखि अवरुद्ध थियो। जहाज मर्मत सम्पन्न भएसँगै यो सेवा पुनः सञ्चालनमा आएको हो।
प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार यसअघि साताको एक दिन मात्र उडान भर्दै आएको जहाज ग्राउन्डेड हुँदा लामो समय उडान हुन सकेको थिएन।
नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म यो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प थियो।
सल्लेरीका व्यवसायी महेश अधिकारीले जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन बीपी राजमार्गको कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए। यद्यपि, उनले यो सेवा निरन्तर र भरपर्दो हुनुपर्नेमा जोड दिए।
विगतमा उडान नहुँदा यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो।
पुनः सुरु भएको उडानबाट पर्यटकीय जिल्ला सोलुखुम्बुमा पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्।
जेठ १२, २०८२ सोमबार ०७:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।