नरसिंहा अवतार :  राजेश हमालको अनुहार देखाएर राज कटुवालको कमजोर अभिनयको व्यापार

नरसिंहा अवतार :  राजेश हमालको अनुहार देखाएर राज कटुवालको कमजोर अभिनयको व्यापार

फिल्म निर्देशकको कला अनि कलाकारको अभिनयबाट दर्शकसँग जब विश्वासको वातावरण निर्माण हुन्छ अनि दर्शक तिनै निर्देशक वा कलाकारको अभिनय रहेको फिल्मको प्रतीक्षामा बस्छन्। त्यस्ता निर्देशकले निर्देशक गर्ने अनि कलाकारले अभिनय गर्ने फिल्म बहुप्रतिक्षीत सूचीमा सूचीकृत हुन्छन्।

तर जब एउटा फिल्म चलाउनका लागि दर्शकलाई उल्लु बनाइन्छ त्यस्ता निर्देशक र कलाकार दुवै दर्शकको नजरमा ब्ल्याक लिस्टमा पर्ने जोखिम हुन्छ। यस पटक निर्देशक दिवाकर भट्टराई अनि अभिनेता राज कटुवाल फिल्म नरसिंहा अवतारबाट यसैगरि दर्शकको ब्ल्याक लिस्टमा पर्ने जोखिम देखिन्छ। कारण निर्देशकले ‘महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म’ भनेर अनि कटुवालले झुर अभिनय गरेर दर्शकलाई नराम्ररी झुक्क्याए।

यसमा धेरथोर दोष राजेश हमालको भागमा पनि पर्ने नै भयो। कारण उनी सहायक कलाकार भएर पनि फिल्म रिलिज हुनु अगाडिसम्म मुख्य कलाकार जसरी फिल्म प्रचारको एकल जिम्मेवारी आफैँले बोके। उनी जसरी खटिए त्यसले दर्शकमाझ उनको खतरै कमब्याक भएको फिल्मको सन्देश गयो। हलमा फिल्म सकिँदासम्म दर्शकले निर्देशक र कलाकार दुबैबाट झुक्क्याइएको अनुभव भयो।

किन? बिस्तारै यसको कारण पनि खुलाउँदै जाने छौँ नै। पहिला यसको कथासार तर्फ लागौँ।

सामाजिक कथाको बलमा एक्सन फिल्मको निर्देशन गर्ने प्रयास गरेका छन् दिवाकर भट्टराइले। राजनीतिले समाजमा कसरी विकृति फैलाएको छ भन्ने मुख्य सन्देश दिने प्रयास भएको छ।

राजनीतिक दलको आडमा काठमाडौँमा दिजेन्द्र प्रताप सिंह (प्रशान्त ताम्राकार)को समूहको आतङ्क छ।  धम्क्याउने, लुट्ने, बलात्कार गर्ने घटना सामान्य नै भयो उनका लागि। बिजेन्द्रको भाइ बिक्की (राजीवजंग बस्नेत) को शहरमा राजगज चल्छ। बलात्कार गर्नु उनको समूहका लागि सामान्य काम हो।

सो समूहलाई राजनीतिक दलको शीर्ष नेता (नीर शाह)को संरक्षण छ। त्यहीँ छन् एसपी अभिनाश विक्रम थापा (राजेश हमाल)। उनको श्रीमती राधाको भूमिकामा छिन् (नीति शाह)।

अर्का सुवास कुँवर (राज कटुवाल) श्रीमती सहित घुम्न निस्किदा पत्रकारलाई हत्या गरेको देख्छन्। अनि सोही समूहको आक्रमणमा पर्छन् कुसुम (सनिशा भट्टराई) छोरी समा र सुवाससहित।

आक्रमणबाट कुसुमले २० वर्षअघिको सबै घटना बिर्सन्छे। दिजेन्द्रको समूहले हत्या गरिदिन्छन्। अनि सुवास सो समूहसँग बदला लिने योजनामा लाग्छन्। उता अभिनाश बनेका राजेश हमाल उनीहरूलाई कानुनको कठघरामा उभ्याउन चाहन्छन्। यहीबीचमा नरसिंहाको अवतारमा दिजेन्द्रको समूह अनि प्रहरी पनि मारिन थाल्छन्। त्यो नरसिंहा अवतारमा को छ फिल्मको मूल कथावस्तु यही हो।

बलियो पक्ष :

फिल्मको सबैभन्दा बलियो पक्ष नै आठ वर्षपछि ठूलो पर्दामा राजेश हमाल हे…. भन्दै देखिनु नै हो। राजेशले आफ्ना पुराना दर्शकलाई रिझाउन सक्छन्। अनि अर्को सकारात्मक पक्ष ‘अच्छा लेकिन लन्डनको चिसोले समाउँला’को रिमेक।

निर शाह लगायतका केही कलाकारहरूको अभिनय फिल्मको बलियो पक्ष हो। केही हदसम्म फिल्ममा सस्पेन्स कायम गर्न निर्देशक सफल देखिएका छन्। सुवास र कुसुम श्रीमान-श्रीमती हुन् भन्ने रहस्यलाई लामो समयसम्म लुकाएर दर्शकको कौतुहलता होल्ड गराउन निर्देशक सफल देखिएका छन्।

केही सिनहरूमा दर्शक भावुक हुन सक्छन्। यत्तिको भिएफएक्स नेपाली फिल्मका हकमा राम्रै मान्नुपर्छ।

कमजोर पक्ष

सबैभन्दा पहिलो कमजोरी कलाकारको छनौटमै देखियो। दर्शक जुन कलाकारको जे भूमिका होला भन्ने अपेक्षा गरेर हल पुग्छन्,निराश हुन्छन्।

अगाडि, बिचमा अनि अन्तिममा अमेरिकी डलर राखेर बिचमा फोटोकपी राखेर सक्कली भन्दै नक्कली डलर भिडाएर ठगी गर्ने समूह एक समय निकै सक्रिय थिए। त्यस्तै ठगी भए जस्तै लाग्छ फिल्म हेर्दै जाँदा।

राजेश हमाल स्क्रिप्टमा झुक्किए कि झुक्क्याइए? वा कमब्याकको लोभमा उनले जस्तो चरित्र भए पनि स्वीकारे ? उनको प्रशंसकको मनमा यो प्रश्न उठिरहन्छ फिल्म हेर्दा पनि अनि हलबाट बाहिर निस्कँदा पनि।

राजेश हमाल हुँदैमा सहयोगी भूमिकामा खेल्नै हुन्न भन्ने मनसाय हैन यो समीक्षकको। नयाँ कलाकारले पनि लिड रोलमा अभिनय गर्न सक्छन्। तर त्यसको सर्त भनेको बलियो भूमिका पाउने कलाकारमा बलियो अभिनयको क्षमता हुनुपर्छ। जब नेम अनि फ्रेमसहित अभिनयमा समेत कमजोर कलाकार मुख्य भूमिकामा अनि सबै तहमा बलिया कलाकार सहयोगी भूमिकामा देखिन्छन् प्रश्न स्वाभाविक रूपमा उठ्छ नै किन यस्तो?

यो फिल्ममा राजेशले पाएको चरित्र अनि राज कटुवालले पाएको चरित्र, स्क्रिन टाइम, अभिनय क्षमता सबै कोणबाट नै फिल्म हेरिरहँदा यस्तै प्रश्न उठिरहन्छ आखिर राजलाई किन त्यस्तो चरित्र दिइयो? दाल केही कालो कि दालै कालो? दर्शकको मनमा प्रश्न उब्जन्छ नै।

पहिलो हाफमा फिल्म चैँ के हो भनेर दर्शक अलमलिन्छन् मजाले।  स्क्रिनप्ले निकै कमजोर देखिन्छ। कलाकारको यति भिड लगाएका छन् कि निर्देशकले दर्शक एक पात्रसँग कनेक्ट हुनु अगाडि नै अर्को आइदिन्छन्।

फिल्म पुरै द्वन्द्वको चरणमा प्रवेश गर्न गर्न लाग्छ तर बिचैमा फ्याट्ट रोमान्स आइदिन्छ। दर्शक छक्क। स्क्रिन प्लेको कमजोरीले फिल्मको कथानक बग्न नदिन निर्देशक र फिल्मको सम्पादकै भिलियन जस्ता देखिन्छन् यसमा।

फिल्म प्रस्तुति शैली र कथ्य संरचना पुरै सन् १९९० कै शैलीमा छ। राजेश हमालको कमब्याक फिल्म भन्ने तहको उनको अभिनय र चरित्र चित्रण छैन। उनले आफ्नो पुरानो छवि भने कायम गरेका छन्। उस्तै शैलीको अभिनय गरेका छन्। उनको अभिनय हेरेर हुर्किएका पुस्ता रमाउन सक्छन्। तर अहिले पुस्ताले झ्याउँ मान्छन्।

उषा खड्गीले आफ्नो डेब्यु फिल्ममा राम्रो अभिनय गरेकी छिन्। निर शाह सदाबहार देखिन्छन् अभिनयमा।  फिल्मको सबैभन्दा कमजोर पक्ष नै राज कटुवाल,नीति शाह र सनिशा भट्टराईको अभिनय हो। त्यसैले माथि नै लेखियो निर्देशक दिवाकरको सबैभन्दा ठूलो ब्ल्न्डर नै मिस कास्टिङ हो। कि त्यत्रो पात्रको भारी नबोकाउनु, कि पात्रको चरित्र अनुसारको अभिनय गराउनु। राज कटुवालको हकमा निर्देशक भट्टराइले निकै कमजोरी गरेका छन्।

आइटी वाला बनेका रमेशचन्द सोडारीको अभिनय ठिकै देखिएको छ। प्रशान्त ताम्राकारको तुलनामा राजीवजंग बस्नेतको अभिनय बलियो छ। यसमा पनि चरित्र निर्माण र त्यस अनुसारको पात्रको चयनमा निर्देशक चुकेको देखियो।

फिल्ममा नकारात्मक चरित्र होस् या सकारात्मक चरित्र होस् दुबैतर्फ मुख्य पात्रको चरित्रदेखि अभिनयसम्म निकै कमजोर देखिन्छ। बरु सहायक पात्र निकै बलिया देखिएका छन्।

९० तिरका फिल्ममा हिरोलाई भटटट गोली लागेर ढल्दा पनि केही समयपछि उठेर भिलियनलाई डङकाडङ कुटेर तह लगाउने सिन हुन्थे नि, हो यस्तै सिन छ फिल्ममा। हिरो गोली लागेर मरणासन्न भएर भुईँमा ढलेको बेलामा डङकाडङ घनले हिर्काए पनि पछि जुरुक्कै उठेर भिलियन तह लगाउँछन्।

फिल्मको ब्याकग्राउण्ड म्युजिक सामान्य नै छ। कुनै कुनै बिजिएम त पहिल्यै कतै सुनेको जस्तै लाग्छन्। फिल्ममा समावेश गीत ‘म त केवल शरीर मात्रै’ कथावस्तु सुहाउँदो नै छ।

‘यो सास रहेसम्म’मा राज र सनिशाको अभिनय सुहाउँदो नै छ। ‘अच्छा लेकिन’ ले हलबाट बाहिरिँदै गर्दा मुड हल्का फ्रेस हुनसक्छ। खिचाई, सम्पादन, मेकअपमा ठिकठाक।

यो फिल्ममा निर्देशकले राजेश हमालको टाउको देखाएर राज कटुवालको स्टारडम निर्माण गर्ने असफल प्रयास गरेका छन्, राजको अभिनय हेर्ने हो भने निर्देशक भट्टराइले हजार प्रयास गरुन् एकाएक अभिनयको दैविक शक्ति पाए बाहेक यो तहको अभिनयले राज राजेश हमाल जस्ता कलाकारमाथि हाबी हुनै सक्दैनन्।  

पहिला पहिला पोस्टरमा राजेश हमालको टाउको राखेर नै फिल्म बिक्थे भन्ने कथनलाई भट्टराइले नरसिंहा अवतारमा परीक्षण गरे। राजेशको टाउको राखेर राजको अभिनय बेच्न फिल्मको गुणस्तरमा त उनी सफल देखिएनन्। अब व्यापारमा कत्तिको सफल हुने हुन् कुन्नि !

तर यति भन्दा पक्कै निर्देशकमाथि अन्याय हुन्न। यसमा राजेश हमाल मात्र नभएको भए फिल्मले पानी पनि भन्न पाउँदैनथ्यो।

जेठ ११, २०८२ आइतबार २३:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।