तीनकुने घटनाबारे मिश्र र धवलको बयान ‘चैत १५ को आयोजक दुर्गा हुन्, हामी त अतिथि’

काठमाडौँ : दुई जनाको ज्यान जानेगरि चैत १५ मा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनका अभियुक्तहरूमध्ये रवीन्द्र मिश्र र धवल शमशेर राणाले कार्यक्रमको आयोजक दुर्गा प्रसाईँ रहेको र नवराज सुवेदीको संयोजकत्वमा रहेको समितिको संलग्नता नरहेको बयान दिएका छन्।
आइतबार जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्रमा समावेश बयानमा दुवै जनाले सुवेदीको संयोजकत्वमा रहेको समितिको प्रकृति र उद्देश्य शान्तिपूर्ण आन्दोलन गर्ने रहेको र चैत १५ को तीनकुनेको प्रदर्शनको खर्च, व्यवस्थापन र आयोजक दुर्गा प्रसाईँ रहेको बयान दिएका छन्।
दुवैले सो प्रदर्शनमा आफ्नो कुनै भूमिका नभएको र अतिथिको रूपमा सहभागी भएको बयानमा दाबी गरेका छन्। मिश्रले प्रदर्शनकारी भड्काउनेगरि दिएको अभिव्यक्ति पूर्व नियोजित नभई आवेगमा बोलेको दाबी गरेका छन् भने राणाले पनि मञ्चमा अश्रुग्याँस प्रहार भएपछि आवेशमा आएर बोलेको र हिंसा भड्काउने कुनै योजना अनुसार नभएको दाबी गरेका छन्।
धवलले बयानमा संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनेर आफूले नभई दुर्गा प्रसाईँले भनेको बयान दिएका छन्।
आफू संलग्न पार्टीको नीति हिंसात्मक नभएको र सो दिन हिंसात्मक घटना घटाउनेहरू को-को हुन् भन्ने आफूले नचिनेको दुवैले बयानमा दाबी गरेका छन्।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा सोही दिन यी दुवै पक्राउ परेका थिए। पछि धवल दिल्लीमा उपचारको फलोअपमा जान प्रहरी कार्यालयबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा छुटेका थिए।
आइतबार अभियोग पत्र दायर हुँदा यी दुवै सम्पर्कमा नभएको भन्दै अदालतबाट पक्राउ पुर्जीको माग गरिएको छ।
तीनकुने अभियोग पत्र
जेठ ११, २०८२ आइतबार २१:०४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।