२० लाखको ‘सी–आर्म’ मेसिन ४० मा किन्दै विभाग, खरिदमा जोडिए स्वास्थ्य सचिव देवकोटा र महानिर्देशक बाराकोटी

२० लाखको ‘सी–आर्म’ मेसिन ४० मा किन्दै विभाग, खरिदमा जोडिए स्वास्थ्य सचिव देवकोटा र महानिर्देशक बाराकोटी

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले अगाडि बढाएको दुई करोड ८६ लाखमा सात वटा ‘सी–आर्म’ मेसिन किन्ने प्रक्रियामा बदनियत देखिएको छ। एकल कम्पनीको प्रस्तावलाई अगाडि बढाउँदै मिलेमतोमा विभागले महंगोमा दोब्बर मूल्यमा मेसिन किन्ने तयारी गरेको हो।

महाशाखाले २०८२ वैशाख २२ (२०२५, मे ५) मा सात वटा ‘सी–आर्म’ मेसिनको प्राविधिक प्रस्ताव स्वीकृत भएको आशयको सूचना प्रकाशित गरिसकेको छ। महाशाखाको सूचनामा ‘सी–आर्म’ मेसिनको टेन्डरको प्राविधिक मूल्याङ्कनमा एकल कम्पनी ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ मात्र छनोट भएको छ।

‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जर्सको नेपाली सप्लायर्स कम्पनी हो। प्राविधिक मूल्यांकनको चरणमा छनोट गर्दै महाशाखाले प्रकाशित गरेको सूचनामा आर्थिक प्रस्ताव वैशाख ३० मा खुल्ने उल्लेख थियो।

मिलेमतोमा अगाडि बढेको सो टेन्डरको आर्थिक प्रस्ताव स्वीकृत हुन बाँकी रहेको स्रोतले उकेरालाई जानकारी दियो। प्राविधिक मूल्याङ्कनमा एकल प्रस्ताव मात्र स्वीकृत भएकाले सो टेन्डर प्रक्रिया स्वीकृत भएमा ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ले नै पाउने निश्चित छ।

महाशाखाको खरिद प्रक्रियामा रहेको सो ‘सी–आर्म’ मेसिनको टेन्डरमा अन्य प्रस्ताव समेत परेको थियो। तर प्रारम्भमै खरिद मापदण्डमा मिलेमतो गरेकाले एकल प्रस्ताव मात्र पास भयो।

पूर्व योजना अनुसार नै मिलेमतोमा अगाडि बढेको खरिद प्रक्रियामा लागत अनुमानमै चलखेल गरेर करिब दोब्बर मूल्य कायम गरेको र खरिद मापदण्डका प्राविधिक प्रावधानहरू एलेन्जर्सको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी निर्माण गरिएको देखिन्छ। सोही अनुसार ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ को मात्र प्रस्ताव प्राविधिक मूल्यांकनको चरणमा पास गरेर खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

सीआर्म को दोब्बर मूल्य

व्यवस्थापन महाशाखाले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा सार्वजनिक गरेको टेन्डर कागजातमा करिब दुई करोड ८६ लाखमा सात वटा ‘सी–आर्म’ मेसिन खरिद गर्नेगरी टेन्डर प्रक्रिया अगाडि बढाउनु अस्वाभाविक देखिन्छ।

यो तथ्य हेर्दा महाशाखाले एउटा ‘सी-आर्म’ मेसिन ४० लाख ८५ हजार भन्दा बढी मूल्यमा खरिद गर्ने गरी टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्याएको देखिन्छ।

तर, उकेराको खोजका क्रममा महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको भारतीय उत्पादक कम्पनी ‘एलेन्जर्स’को सो ‘सी–आर्म’ मेसिनको मूल्य करिब सात लाख भारतीय रुपैयाँ पर्ने देखिन्छ। सबै खर्च कटाएर नेपाल आइपुग्दा यो मेसिन नेपाली १७ लाख हाराहारी पर्ने देखिन्छ। तर, एक जानकारले यो मेसिन नेपालमा करिब २० देखि अधिकतम २५ लाखमा आउने बताए।

यसरी हेर्दा प्रतिगोटा २० लाख हाराहारी ‘सी–आर्म’ मेसिन विभागको महाशाखाले ४० लाख ८५ हजार भन्दा बढी मूल्यमा खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएको प्रस्टै देखिन्छ।

करिब दोब्बर मूल्यमा खरिद गर्नेगरी ‘सी–आर्म’ मेसिनको टेन्डर आह्वान हुँदा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. विकास देवकोटा थिए। स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल नै थिए। स्वास्थ्यमन्त्री पौडेलले डा. संगीता कौशल मिश्रलाई हटाउँदै डा. देवकोटालाई गत असोज पहिलो साता विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएका थिए। फागुन तेस्रो साता डा. देवकोटा स्वास्थ्य सचिव भएपछि मन्त्री पौडेलले डा. टंकप्रसाद बाराकोटीलाई विभागको महानिर्देशक बनाएका छन्। 

व्यवस्थापन महाशाखाले २०८१ माघ ४ (२०२५, जनवरी १७)  मा सात वटा यो ‘मोबाइल सी–आर्म’ मेसिन खरिद गर्नेगरी टेन्डर आह्वान गरेको हो। यसरी हेर्दा डा. देवकोटा विभागको महानिर्देशक हुँदा नै महाशाखाले स्पेशिफिकेशन नै लक्ड गरेर भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जर्सको नेपाली सप्लायर्स ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’सँग करिब दुई करोड ८६ लाखमा ‘सी–आर्म’ मेसिन खरिद गर्नेगरी टेन्डर प्रक्रिया अगाडि बढाएको देखियो।

अनि डा. देवकोटा महानिर्देशक हुँदा सेटिङ अनुसार नै अगाडि बढाइएको ‘सी–आर्म’ मेसिनको त्यही टेन्डर सेटिङलाई हालका महानिर्देशक डा. टंक प्रसाद बाराकोटीले अनुमोदन गर्ने गरी प्रक्रिया अगाडि बढाएको देखिन्छ। उनले प्रक्रिया मात्रै अगाडि बढाएका छैनन्, सेटिङअनुसारको यो टेन्डर स्वीकृतिकै चरणमा पुर्याइसकेका छन्।

खरिद सेटिङलाई बलियो बनाउन विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा निर्देशकमा डा. पवनजंग रायमाझी छँदै छन्। महाशाखाको खरिद प्रमुखमा डा. सुरेन्द्र चौरासियापछि दया पन्त छन्। खरिदको निर्णयमा उनको भूमिका हुने नै भयो।

त्यसैगरी महाशाखामा नै सेटिङ अनुसारको खरिदको कागजात बनाउने दीपक अधिकारी अनि प्राविधिक स्पेशिफिकेशन लक्ड गरिदिने बायोमेडिकल इन्जिनियर आशिष चौहान छन्। त्यसैगरी लेखा, कानुन र प्रशासन प्रमुखको पनि खरिद सेटिङमा भूमिका हुन्छ। खरिद सेटिङमा स्वास्थ्यमन्त्री पौडेलको मौन सहमति छँदैछ।

यसरी भएको थियो सेटिङ

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८१ माघ ४ मा ‘मोबाइल सी–आर्म’ मेसिन खरिदका लागि टेन्डर आह्वान गरेपछि सेटिङ अनुसार नै प्रक्रिया अगाडी बढिहाल्यो। तर, उकेराको अध्ययनमा टेन्डर गर्नु पूर्व नै मेसिन उत्पादक कम्पनी एलेन्जर्सकै नेपाली सप्लायर्सलाई टेन्डर दिने पूर्व तयारीकासाथ टेन्डर आह्वान गरेको देखिन्छ।

लागत अनुमान पनि उसैको नेपाली सप्लायर्सलाई दिनेगरी बनाएर प्राविधिक स्पेसिफिकेसन पनि एलेन्जरसँग मिल्ने गरी बनाएको देखिएको छ।

महाशाखाको ‘मोबाइल सी–आर्म’ मेसिन खरिदका लागि माघ २५ (फेब्रुअरी ७) लाई प्रिबिड मिटिङ तोकिएको थियो। प्रि–बिड मिटिङपछि सप्लायर्स कम्पनीले चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।

प्राविधिक मूल्याङ्कनको चरणमा सप्लायर्स कम्पनीले पेस गरेको मेसिन, औजार तथा उपकरण टेन्डर आह्वान गर्ने संस्थाले सार्वजनिक गरेको स्पेसिफिकेसन मिल्छ की मिल्दैन भन्ने जस्ता प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ।

महाशाखाले ‘मोबाइल सी–आर्म’ खरिद प्रक्रियाको प्रारम्भदेखि निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी मापदण्ड बनाएर खरिद प्रक्रिया अगाडि बढाएको थियो नै। त्यसैले एलेन्जर्स बाहेकका सप्लायर्स कम्पनीहरूले मापदण्ड बदनियतकासाथ निश्चित कम्पनीको प्रस्ताव मात्र पास हुने गरी बनाएको भन्दै संशोधनको माग  समेत गरेका थिए। तर, लक्ड खुलेन।

त्यसपछि महाशाखाले माघ ३० (फेब्रुअरी १२) मा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा ‘मोबाइल सी–आर्म’को एउटा बुँदा संशोधन गर्दै सूचना प्रकाशित पनि गर्यो। टेन्डर आह्वान गर्दा टेन्डर कागजातमा ‘मोबाइल सी–आर्म’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.१.७’ मा ‘एनोड हिट स्टोरेज क्यापसिटी सुड बी ८० केएचयु अर मोर’ उल्लेख थियो।

त्यो बुँदालाई संशोधन गदै ‘...८० केएचयु अर मोर’को ठाउँमा ‘...७० केएचयु अर मोर’ बनाइयो। तर, अन्य लक्ड भएका मुख्य बुँदा भने जस्ताको तस्तै राखियो। महाशाखाले मुख्य लक्ड बुँदा संशोधन नै नगरी टेन्डर दिन चाहेकै सप्लायर्सले टेन्डर पाउने गरी सेटिङ अनुसार नै खरिद प्रक्रिया अगाडि बढायो।

‘मोबाइल सी–आर्म’को टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति फागुन ५ (२०२५, फेब्रुअरी १७) लाई तोकिएको थियो भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको थियो। तोकिएकै मितिमा टेन्डर खुल्यो।

उकेराको खोजको क्रममा मेसिन उत्पादक कम्पनी ‘एलेन्जर्स’को ‘एचएफ ५९ प्लस’ मोडलसँग मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैलाई टेन्डर दिनेगरी महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

टेन्डर प्रस्ताव गरिसकेपछि मूल्याङ्कनको चरण सुरु हुन्छ। यो टेन्डरमा महाशाखाले ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाइएको छ। ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो। यस्तो विधिमा सबैभन्दा पहिला प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ। प्राविधिक मूल्यांकनको चरणमा छनोट भएका सप्लायर्स कम्पनी मात्रै आर्थिक चरणमा पुग्छन्।

‘मोबाइल सी–आर्म’को टेन्डरमा ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’को ‘सिंगल’ प्रस्तावकको प्राविधिक प्रस्ताव स्वीकृत गरेर उसैलाई नै टेन्डर दिनेगरी आर्थिक प्रस्ताव खुल्ने सूचना जारी गर्नुले कुन तहसम्मको सेटिङ छ भन्ने प्रस्ट हुन्छ।

महाशाखाले टेन्डर आह्वान गरी अगाडी बढाएको ‘मोबाइल सी–आर्म’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-३७.१-एमडी-२०८१-८२’ हो।

विभागले ‘मोबाइल सी–आर्म’मात्रै हैन। प्राविधिक स्पेसिफिकेसनको मूल्याङ्कनको चरणमा एउटा मात्रै सप्लायर्स कम्पनीलाई छनोट गर्दै अन्य टेन्डरहरू पनि भटाभट अगाडि बढाइरहेको छ।

यति ठूलो रकमको टेन्डरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा (आइसीबी)लाई निषेध गर्दै महाशाखाले राष्ट्रिय प्रतिस्पर्धा (एनसीबी) मा खुम्च्याएको छ।

जेठ ११, २०८२ आइतबार २०:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।