चैत १५ को अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रसँग निर्मल निवासमा भेटेको दुर्गाको बयान,ज्यान जोगाउन भारत भागेको दाबी

काठमाडौँ : तीनकुने घटनाको मुख्य योजनाकारका रूपमा पाँच अभियोग लागेका दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पाँच पटक भेटेको बयान दिएका छन्। आइतबार जिल्ला अदालत काठमाडौँमा दायर भएको तीनकुने घटना सम्बन्धी अभियोग पत्रमा उनले पाँच वर्ष अगाडिबाट ज्ञानेन्द्र शाहसँग पटक पटक भेट हुने गरेको बयान दिएका छन्।
दुर्गाको बयानमा ज्ञानेन्द्रको निजी सचिवमार्फत भेट गर्ने गरेको र सम्बन्ध राजा र जनताबीच जस्तो हुन्छ त्यस्तै रहेको दाबी गरेका छन्। उनले बयानमा तीनकुने घटना हुनु भन्दा एक दिन अगाडि चैत १४ गते निजी सचिव राजेश सिंहमार्फत निर्मल निवासमा गएर भेटेको दाबी गरेका छन्।
उनले बयानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग २० वर्ष बिताएको, माओवादी सशस्त्र द्वन्द्वताका संलग्न हुँदा पक्राउ परेर सैनिक हिरासतमा ६ महिना परेको समेत बयानमा उल्लेख गरेका छन्। उनले बयानमा तीन वर्ष आफू एमालेको केन्द्रीय सदस्य रहेको बताएका छन्।
चैत १५ गतेको आयोजकमध्ये नवराज सुवेदी संयोजक रहेको र उनी मातहतमा डा धवल शमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन तथा व्यवस्थापन समिति रहेको बताएका छन्। बयानमा उनले धवलको समिति अन्तर्गत जनआन्दोलन परिचालन गर्ने जिम्मेवारी आफ्नो रहेको खुलाएका छन्।
उनले बयानमा आफू भक्तपुरको घरबाट साइत हेराएर १२ : ३१ मा निस्कँदा राम्रो हुन्छ भनेकाले सोही समयमा निस्किएको बताएका छन्। उनले आफू साढे १ बजे कार्यक्रमस्थलमा आइपुगेर मञ्चमा जानेक्रममा अश्रुग्याँस हानेको र आफ्नो कानै नजिकबाट गोली गएपछि आफ्नो हत्या गर्न आन्दोलनमा घुसपैठ भएको देखेपछि आफैँले गाडी चलाएर ज्यान जोगाउन प्रहरीको घेराभित्र गएको दाबी गरेका छन्।
उनले आफूले आओ...आयो भनेर प्रहरीको ब्यारिकेट तोड्न नभई आफ्ना मान्छेहरूलाई ज्यान जोगाउन प्रहरी घेराभित्र आओ भनेर बोलाएको बयानमा दाबी गरेका छन्। प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा भारतमा नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो। उनले बयानमा जनकपुर हुँदै भारत गएको दाबी गरेका छन्।
जेठ ११, २०८२ आइतबार १९:४४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।