तीनकुने घटनाको मुख्य योजनाकार दुर्गा प्रसाईँ, प्रमाणमा फुटेजसँगै धवल र रवीन्द्र मिश्रको पोल बयान

काठमाडौँ : चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनाबारे जिल्ला अदालत काठमाडौँमा दायर भएको अभियोग पत्रमा मुख्य योजनाकार दुर्गा प्रसाईँलाई बनाइएको छ। कार्यक्रम आयोजनाका लागि अनुमति लिएको संस्थाको दर्ता, चैत १५ मा तीनकुने लगायतका क्षेत्रको भिडियो फुटेज र पक्राउ परेका अन्य सह-प्रतिवादीहरुको बयानलाई मुख्य आधार बनाएर प्रसाईँलाई मुख्य अभियुक्त बनाइएको छ।
अभियोग पत्रमा सहप्रतिवादी रवीन्द्र मिश्र, धवल शमशेर राणा, सुशील बराल, सरोज गौतम, पशुपति खड्का लगायतले सो दिन भएको गतिविधिको जिम्मेवार आयोजक दुर्गा प्रसाद प्रसाईँ रहेको भनेर पोल बयान गरेकाले प्रसाईँ नै मुख्य भूमिका रहेको उल्लेख छ।
प्रसाईँ नै सो दिनको कार्यक्रमको मुख्य जिम्मेवार हुन् भन्ने प्रमाणका लागि अभियोग पत्रमा रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतका व्यक्तिहरूको बयानलाई समेत मुख्य प्रमाणको रूपमा उल्लेख गरिएको छ।
अभियोग पत्रमा उल्लेखित विवरण अनुसार शान्तिपूर्ण कार्यक्रम गर्ने भनेर प्रसाईँको नाममा दर्ता रहेको, ‘राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाइ महाअभियान’ को नाममा कार्यक्रमको अनुमति लिएको देखिन्छ।
उक्त अभियानअन्तर्गत २०७५ साल चैत १५ गते काठमाडौँ तीनकुनेमा जनविद्रोह घोषणा सभा आयोजना गरिएको, घोषणा सभा ११ बजे गर्ने भनिए पनि हिंसात्मक गतिविधिको योजना अनुसार विभिन्न व्यक्तिहरूलाई विभिन्न क्षेत्रमा आगजनी र तोडफोड लगायतका हिंसात्मक घटनाको जिम्मा दिएर कार्यक्रम साढे १ बजेतिर गरेको अभियोग पत्रमा दाबी गरिएको छ।
उनी आयोजकका रूपमा आन्दोलनमा सहभागी रहेको र कार्यक्रम स्थलमा रहेको, उनका समर्थकहरूले सरकारी र गैर-सरकारी सम्पत्तिहरूमा तोडफोड, आगजनी जस्ता गतिविधिहरू गरेको, प्रसाईँका समर्थकहरूले प्रहरीको घेराबन्दी तोडेको, प्रहरीमाथि आक्रमण गरेको, भवनहरूमा तोडफोड र आगजनी गरेको अभियोग पत्रमा उल्लेख छ।
उनले प्रयोग गरेको गाडी बा.प्र.०१-०२७ च ३६४७ नम्बरको स्कार्पियोबाट कार्यक्रम स्थलसम्म आएको र त्यस क्रममा प्रहरीलाई ठक्कर दिएको, प्रसाईँसँग ५–६ वर्षअघिदेखि विभिन्न व्यक्तिहरूको चिनजान रहेको र उनीहरू प्रसाईँको अभियानमा सहभागी रहेको विवरणलाई पनि उनी चैत १५ को घटनाको मुख्य अभियुक्त हुने आधारको रूपमा प्रस्तुत गरिएको छ।
अभियोग पत्रमा डा.धवल , रवीन्द्र मिश्र, सन्तोष कुमार सिलवाल, विष्णुहरि रिमाल, पशुपति खड्का, कुमार बस्नेत, शिशिर जिसी, विष्णु बस्नेत समेतसँग गठमेल गरी चैत १५ मा तीनकुनेमा स्वयम् उपस्थित भई निजहरूसँग लामो समयसम्म फोन सम्पर्कमा रहेर सङ्गठित समूह बनाएर आपसमा तहगत जिम्मेवारी बाँडफाँड गरेको उल्लेख छ।
सो दिन हिंसा फैलाउन प्रसाईँले पशुपति खड्कालाई सिनामंगल क्षेत्र, सन्तोष कुमार सिलवाललाई तीनकुने बालकुमारी, ओम प्रकाश लुइँटेललाई जडीबुटी क्षेत्रमा खटाई सरकारी, निजी भवन, सवारी साधनहरूमा तोडफोड तथा आगजनी गर्ने कार्यको नेतृत्व गरेर आपराधिक बल प्रयोग मार्फत नेपालको संविधान र यसका वैधानिक संरचनाहरूलाई पल्टाउने उद्देश्यले अव्यवस्था उत्पन्न गरेको पुष्टि भएको दाबी गरिएको छ।
दुर्गा प्रसाईँ, नवराज सापकोटा र अन्य व्यक्तिहरूले संयुक्त बैठक गरेर आन्दोलनको योजना बनाएको, आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण, ढुंगा प्रहार, टायर जलाउने, तोडफोड गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति गर्ने लगायतका गतिविधिहरू भएको र यसक्रममा एक जना पत्रकारको मृत्यु भएकोलाई मुख्य प्रमाणको रूपमा अभियोग पत्रमा उल्लेख छ।
यसको आधारमा प्रसाईँमाथि राज्य विरुद्धको कसुर, कर्तव्य ज्यान,आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधको अभियोग लगाएको छ।
जेठ ११, २०८२ आइतबार १८:५०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।