तीनकुने घटनामा रवीन्द्र र धवलसहित नौ जना फरार, अदालतबाट पक्राउ आदेश माग

काठमाडौँ : अदालतको आदेशमा छुटेका रवीन्द्र मिश्र र उपचारका लागि प्रहरीले हाजिर जमानीमा छाडेका धवल शमशेर राणासहित ११ जनालाई फरार प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालय काठमाडौंले चैत १५ को तीनकुने घटनाबारे अभियोग पत्र दर्ता गरेको छ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार दर्ता भएको अभियोग पत्रमा मिश्र र राणासँगै मुद्दामा संलग्न रही फरार रहेका अन्य ९ जनाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।
मिश्र र राणासँगै दुरेन राई, सानु पूर्वछाने, बिनञ्जय थापा, प्रेम लाल बैदार, राजेन्द्र जिसी, सतिश न्यौपाने, प्रेम दीप लिम्बु भन्ने प्रेम कुमार थाम्सोहाङ, प्रकाश चन्द्र दाहाल र विष्णु राजावादी भन्ने विष्णुहरि रिमालको नाममा अदालतबाटै पक्राउ पुर्जी जारी गर्न अभियोग पत्रमा माग गरिएको छ।
चैत १५ मा तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा तोडफोडसँगै दुई जनाको ज्यान गएको थियो भने गोली लागेर २० जना घाइते भएका थिए। मृतकमध्ये एक जना पत्रकार सुरेश रजक प्रदर्शनकारीले आगो लगाएको घरमा मारिएका थिए। अर्का प्रहरीको गोली लागेर मारिएका थिए।
सोही घटनाको अनुसन्धानकोक्रममा प्रहरी हिरासतमै रहेको बेलामा राणा भारतमा उपचारको फलोअपमा जानुपर्ने भनेर प्रहरी कार्यालयबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र अदालतको आदेशमा छुटेका थिए। मुद्दा लैजाँदा यी दुवै फरार देखिए।
जेठ ११, २०८२ आइतबार १८:२३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।