गृहमन्त्रीको प्रतिरक्षामा सञ्चारमन्त्री, कर्मचारी पक्राउ पर्दा राजीनामा दिनु नपर्ने तर्क

काठमाडौं : त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा रहेका गृह प्रशासनका कर्मचारी मानव तस्करीमा सक्रिय गिरोहमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा परेसँगै गृहमन्त्री रमेश लेखक समेत दबाबमा परिरहेको बेलामा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका पृथ्वी सुब्बा गुरुङ उनको पक्षमा देखिए।
अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्री लेखकले नै सरुवा गरेर त्यहाँ पठाएका थिए भने अख्तियारले गोप्य रूपमा अनुसन्धान गरिरहेको बेलामा उनैले शंकास्पद रूपमा रातारात उनको सरुवा गराएका थिए। गृहमन्त्रीको सचिवालयका कर्मचारी समेत छानबिनको दायरामा परेपछि गृहमन्त्री लेखकको राजीनामा माग्नेक्रम सुरु भयो।
उनकै दलको नेता शेखर कोइरालाले समेत नैतिकताको आधारमा राजीनामा दिन सार्वजनिक रूपमै सुझाव दिएका थिए। लगत्तै मन्त्री लेखकले यसबारेमा केही दिनमा बोल्ने भन्दै शनिवार केही सञ्चारकर्मीहरूमाझ कुनै कर्मचारी अनुसन्धानमा तानिँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाल्ने हो भन्दै प्रतिप्रश्न गरेका थिए।
उस्तै शैलीमा सञ्चारमन्त्री गुरुङले आइतबार सञ्चारकर्मीहरूसँग गृहका एक कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने तर्क गरे। आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुहोस्। एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र?’
जेठ ११, २०८२ आइतबार १६:२०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।