ब्रान्ड भनेर के गर्नु, हल भिजिटमा नहिँडी सुखै पाएनन् राजेशले

काठमाडौं : आफ्नो फिल्म हलमा लागेपछि कलाकारहरू दर्शक भेट्न हलमा पुग्नु नौलो रहेन। तर राजेश हमाल आफैँ नेपाली फिल्मको ब्रान्ड। आठ वर्षपछि अभिनय गरेको फिल्म हलमा आउँदा त उनको नामै काफी हुनुपर्ने हो। ब्रान्ड त हुन् नै तर ब्रान्ड छ भनेर धर पाएनन् उनले। फिल्म रनसिंहा अवतार रिलिज हुनुभन्दा अगाडि पनि जताततै उनी नै एकल प्रमोसनमा व्यस्त थिए। फिल्म रिलिज भएपछि पनि हलहलमा जान उनी नै व्यस्त छन्।
गत जेठ ९ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा : अवतार’ हमालको ८ वर्षको अन्तरालमा कमब्याक भएको फिल्म हो। त्यसैले यसलाई व्यापारिक रूपमा सफल बनाउनु निर्माता मात्रै हैन उनका लागि पनि चुनौती बनेको छ। त्यसैले उनी फिल्मको प्रचारमा कस्सिएर लागेका छन्।
फिल्म रिलिज अगाडि प्रमोसनका लागि उनले कुनै प्लेटफर्म छाडेनन्। राजेश हमालको दुर्लभ अन्तर्वार्ता यस पटक छ्यालब्यालै भयो। आफ्नै फेसबुक पेजबाट दर्शकलाई हलमा आइदिन आग्रह गरिरहे उनले।अष्टनारायण हलमा पुगेर उनले दर्शकसँगै ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीतमा नाचेरै देखाए।
राजेश प्रचारमा कस्सिएर लागेको प्रभाव हलमा देखियो पनि। फिल्मको ओपनिङ सुखदै देखियो भने राजेश हमालको कमब्याक भएको फिल्म भन्दै दर्शकहरू हलमा पुगिरहेका छन्। केही दर्शक सन्तुष्ट देखिए, केही दर्शक असन्तुष्ट। तर हलको अकुपेन्सी भने बलियै देखिन्छ आइतबारसम्म।
दिवाकर भट्टराई निर्देशक फिल्म ‘नरसिंहा : अवतारमा’ नरेन्द्र महर्जन, नेम महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ। फिल्ममा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार,उषा खड्गी, राजीव जङ्ग बस्नेत, रमेश चन्द सोडारी लगायत कलाकारको अभिनय छ।
जेठ ११, २०८२ आइतबार १६:०२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।