महिला फुटबलमा अनुज पुस्ताकी आदर्श अनु

काठमाडौं : भनिन्छ कीर्तिमानहरू तोडिनकै लागि बन्छन्। नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले कुनै समय बनाएको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान अहिले तोडिइसकेको छ। तर नेपाली महिला फुटबलको उन्नयनमा अनुको कीर्ति अमिट छ।
सिनियर राष्ट्रिय टोलीबाट अनुले केवल आठ वर्ष मात्र खेल्न पाइन्। एउटा खेलाडीका लागि आठ वर्षे अन्तर्राष्ट्रिय करिअर छोटै हो। तर, खेलाडीको करिअर कति लामो खेल्यो होइन, कति उत्कृष्ट खेल्यो भन्नेमा निर्भर हुन्छ। अनुले आठ वर्ष आफ्ना लागि त अविस्मरणीय बनाइन् नै यो बिचमा अनुज पुस्ताका लागि पनि आदर्श भएर निस्किइन्।
अनु नेपाली महिला राष्ट्रिय खेलाडीमध्ये सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तामा दोस्रो स्थानमा छिन्। उनलाई उछिन्ने अरू कोही नभएर सावित्रा भण्डारी हुन्, जसको प्रेरणा अनु नै हुन्। सावित्राले करिअरको सुरुवातताका भन्ने पनि गर्थिन्, ‘जमुना गुरुङ र अनु लामाको अन्तर्राष्ट्रिय रेकर्ड तोड्ने उद्देश्य छ’ भनेर।
भारतसँगको हारबाट डेब्यु, जितबाट बिदा
नेपाली महिला फुटबलकी ‘लेजेन्ड’ अनुले २०८१ माघ १६ मा घरेलु फुटबलबाट सन्न्यास लिइन्। एन्फा महिला लिगको उपाधि जितेर २१ वर्षे करिअरलाई सुखद् अन्त्य गरिन्। तर, अन्तर्राष्ट्रिय फुटबलबाट भने अनुले सोचेजस्तो बिदाइ पाएकी थिइनन्।
सन् २०१४ देखि २०१६ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेकी अनु २०१९ को साफ च्याम्पियनसिप खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन चाहन्थिन्। तर, दुर्भाग्य, उनी छनोट नै भइनन्।
परिणामतः सन् २०१८ मा भारतको उडिसामा भएको हिरो गोल्ड कप नै राष्ट्रिय जर्सीमा उनको अन्तिम खेल भयो। यद्यपि, उक्त खेलमा नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पहिलो पटक हराएको थियो। सन् २०१० को दक्षिण एसियाली खेलकुदमा आफ्नो डेब्यु प्रतियोगितामै भारतसँग उपाधि भिडन्तमा हारेकी अनुका लागि नियतिले खेलेको मीठो संयोग पनि थियो त्यो।
“पदक गुमायौँ”, ग्लानि मिश्रित भावमा उनले भनिन्, “अहिले पनि त्यो खेल सम्झँदा थकथक लाग्छ। रेफ्रीबीचको समन्वय नभएर हो कि भन्ने पनि लाग्छ।”
प्रतियोगितामा नेपालले उपाधि चुम्न पाएन, तर नेपाली फुटबलले हीरा चिन्न पायो। अनुले उक्त प्रतियोगितामा पाँच गोल गरिन्। लगत्तै भएको पहिलो महिला साफमा ११ गोल गरिन्। सन् २०१२ को दोस्रो महिला साफमा पाँच र सन् २०१४ मा भएको तेस्रो महिला साफमा पनि पाँचै गोल गरिन्।
कुवेत विरुद्धका दुई मैत्रीपूर्ण खेलमा ६ गोल र कतार विरुद्धको एक मैत्रीपूर्णमा एक गोल गरिन्। अनि सागमा बंगलादेश र माल्दिभ्स विरुद्ध दुई गोल गरेर कुल ३५ गोलको कीर्तिमान रचिन्।
विपन्न बाल्यकाल
२०४४ सालमा मकवानपुरमा जन्मिएकी अनुलाई परिवारले सानैमा सिन्धुलीमा रहेको मामाघर लगेर राखिदिए। चरम गरिबीकै कारण नौ वर्षको उमेरसम्म पनि उनी विद्यालय जान पाइनन्।
तर, २०५२ सालमा उनको परिवार मकवानपुर छोडेर रौतहटको नुनथरमा बसाइँ सरेपछि भने अनुको जीवनले कोल्टे फेर्यो। अनु मावली छोडेर घरपरिवारसँगै नुनथर बस्न थालिन्। नुनथरको बागमती नदी किनारको फाँटमा मोजाभित्र कागज, थोत्रा कपडा कोचेर बल बनाएर खेल्दै रमाउन थालिन्।
घर नजिकैको बागमती माध्यमिक विद्यालय थियो। पछि त विद्यालय पनि भर्ना भइन्। यसपछि त मोजाको होइन, वास्तविक बल नै खेल्न पाइन्। गाउँतिर साँझ बिहान केटाहरू समूह बनाएर फुटबल खेल्थे। उनी पनि हेर्न जान्थिन्। टोली नपुगेको बेला उनले गोलरक्षकमा मौका पाउँथिन्।
उनका लागि त्यो नै ठूलो कुरा थियो। बिस्तारै अनुको कौशल निखारिँदै गएपछि त केटाहरूले उनलाई नियमित टोलीमै पार्न थाले। यसबीचमा अनुले विद्यालय स्तरीय प्रतियोगिता हुँदै वडाका कार्यक्रममा पनि फुटबल खेल्न थालिन्।
दाइ र बहिनी पनि फुटबल खेल्थे। उनीहरूले भने निरन्तरता दिएनन्। विद्यालय गएर घरको काम पनि गर्नुपर्ने भएकाले दिदी-बहिनी दुवै खेल्न निस्कनु त्यति व्यावहारिक भएन। विद्यालयबाट फर्किएपछि कि अनु घरमा बस्नुपर्यो कि बहिनी। दिदीको फुटबलप्रतिको लगाव देखेर एकदिन बहिनीले भनिछन्, ‘तँ खेल, म घरमा काम गर्छु।’
नेपालीमा एउटा भनाइ छ, ‘भाइ भए भर हुन्छ।’ अनुका लागि भने बहिनी भर भइन। आड बनिदिइन्। “बहिनीले साथ नदिएको भए म आज यहाँ हुने थिइन्”, अनुले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्।
अनुको चम्किलो फुटबल करिअरमा साथ दिने अर्का मुख्य व्यक्ति एन्फा रौतहटका शाखाका पूर्वअध्यक्ष शेरबहादुर दर्लामी पनि हुन्। दर्लामीले नै रौतहटमा महिला टोली बनाएका थिए। त्यसैको प्रभावस्वरूप अनु मात्र होइन, अहिले राष्ट्रिय टिमका ११ मध्ये ८ जना खेलाडी त रौतहटकै छन्।
“हामी गाउँमा हुने स्थानीय प्रतियोगितामा खेल्थ्यौँ। गाउँकै दाइले शेरबहादुर गुरुलाई भेट्न भन्नुभयो। उहाँलाई भेटेपछि आधारभूत तहदेखि नै सिक्न पाइयो”, अनुले भनिन्, “खेल कौशल त सिकियो नै। मुख्य कुरा खेलमा अनुशासन हुनु कति महत्त्वपूर्ण हुन्छ भन्ने सिकियो।”
राष्ट्रिय टोलीसम्मको यात्रा
अनुभन्दा केवल पाँच वर्ष जेठो हो नेपाली महिला राष्ट्रिय फुटबल टोली। २०३९ सालमा राष्ट्रिय टोली गठन भएर २०४३ सालमा पहिलो पटक हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो।
मोजाको बल हुँदै स्थानीय स्तरका प्रतियोगितामा भाग लिँदै गएपछि अनुको मनमा राष्ट्रिय टोलीको जर्सी लगाउने सपना पलाउन थालेको थियो। त्यही सपना पछ्याउन उनले जिल्लाबाट चार पटक राष्ट्रिय प्रतियोगितामा भाग लिइन्। चारै पटक उनको टोली उपविजेता भयो।
२०६३ मा काठमाडौंमा छात्रा टुर्नामेन्ट भयो। त्यति बेला सेमिफाइनलसम्म पुग्यो उनको टोली। २०६४ मा भने उनीहरू फाइनलै पुगे। तर, फाइनलमा काठमाडौंले जित्यो।
यसरी विभिन्न प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै गएपछि अनु धेरैको नजरमा परिन्। उनलाई सशस्त्र प्रहरीको महिला टोलीमा रहेर खेल्न प्रस्तावै आयो। अनुको करिअरमा यो कोशेढुंगा थियो।
सशस्त्रमा भएपछि खेललाई पनि निरन्तरता दिन पाइने अनि आम्दानी पनि हुने भएपछि उनी २०६४ सालमा काठमाडौं आइन् र त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
यू-१९ उमेर समूह हुँदै त्यही वर्ष राष्ट्रिय टोलीमा छनोट भइन्। र दक्षिण एसियाली खेलकुदमा पनि डेब्यु गरिन्। “२०१० अघि नै राष्ट्रिय टोलीमा सहभागी भए पनि गेम खेल्न पाएको थिइनँ”, अनुले भनिन्, “बंगलादेशमा भएको खेल मेरो लागि राष्ट्रिय टोलीमा भएपछिको पहिलो हुन पुग्यो। यो खेल मेरा लागि अविस्मरणीय हुन पुग्यो।”
खेलबाट बिदा, प्रशिक्षणको चाहना
सक्रिय खेल जीवनबाट बिदा भएसँगै अब अनुको चाहना छ, प्रशिक्षण गर्ने। आफ्नो करिअरमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जित्न नसके पनि उनको सपना छ, महिला टोलीले ट्रफी उचालेको हेर्ने।
यो सबै आकांक्षा उनी प्रशिक्षकको रूपमा पूरा गर्न चाहन्छिन्। मैदानमा हुन्जेल नयाँ पुस्ताको आदर्श बनेकी अनु अब आफ्नो कौशल सकेजति अरूलाई सिकाउन चाहन्छिन्। “आफूले सिकेको सीप अरूलाई सिकाऊँ भन्ने त सबै खेलाडीलाई लागि नै हाल्छ। त्यसैको तयारीको लागि कोर्सहरू लिएँ। अब म घरेलु टोलीमा सहायक प्रशिक्षक हुन मिल्छ”, उनले भनिन्।
अहिले नेपाली महिला फुटबल टोलीको ‘चार्म’ बेग्लै उचाइमा छ। यसको जग अनु जस्तै खेलाडीहरूले बसाएका हुन् भन्दा अतिशयोक्ति हुँदैन। “फुटबल समूहको खेल हो। खेलाडीबीच अन्डरस्टान्डिङ भएर मात्रै हुँदैन। खेलहरू भइरहनुपर्यो। अहिले जतिको चर्चा यस अगाडि महिला टिमको थिएन। यही बेला धेरै खेल खेलाउने हो भने खेलाडी तिखार्न सकिन्छ। यति गरे हाम्रा खेलाडीले ट्रफी उचाल्छन्”, अनुले भनिन्।
जेठ ११, २०८२ आइतबार १४:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।