नेपाललाई प्रमुख बुद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न अध्यक्ष ढकालको आह्वान

नेपाललाई प्रमुख बुद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न अध्यक्ष ढकालको आह्वान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख बुद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।

बिहीबार राजधानीमा आयोजित बुद्ध इन्टरनेशनल ट्राभल मार्टलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बुद्धको जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम, बौद्ध र स्वयम्भू जस्ता पवित्र स्थलहरूलाई विश्वभर चिनाउनुपर्नेमा जोड दिए।

'यो मार्टले नेपाली बुद्ध पर्यटनस्थलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्नेछ,' ढकालले भने।

पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय क्रेता र राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार आदानप्रदानको अवसर समेत बढ्ने उनले बताए। सन् २०१९ मा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको नेतृत्वमा सुरु भएको बुद्ध इन्टरनेशनल ट्राभल मार्टलाई अझै मजबुत ब्रान्ड बनाउँदै नेपाललाई बुद्ध पर्यटनको केन्द्रस्थल बनाउन आवश्यक रहेको उनले औंल्याए।

भारतका बौद्ध तीर्थस्थलहरूसँग नेपालका स्थलहरू जोड्ने 'बुद्ध सर्किट' निर्माण गर्न ढकालले जोड दिए। 'यदि हामीले विश्वभरका बौद्धहरूलाई जीवनमा एकपटक लुम्बिनी आउन प्रेरित गर्न सक्यौं भने नेपालको पर्यटन क्षेत्र पूर्णरूपमा बदलिन सक्छ,' उनले भने।

लुम्बिनीको शान्त वातावरण ध्यान र माइन्डफुलनेस रिट्रीटका लागि उपयुक्त भएको उल्लेख गर्दै उनले वेलनेस पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।

पूर्वाधार चुनौतीतर्फ संकेत गर्दै ढकालले दीर्घ प्रतीक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए। सरकारको मूल्य अभिवृद्धि कर लगायत कारण हवाई टिकटको भाडा महँगो भएको र त्यसले पर्यटकलाई असर पारेको भन्दै उनले चिन्ता व्यक्त गरे।

नेपाल पर्यटन बोर्डको भूमिका थप मजबुत बनाउन, नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको लागि अध्यागमन प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे।

भारतीय पर्यटकहरूका लागि हाल लागू रहेको मुद्रा सीमा पनि परिमार्जन गर्न सुझाव दिंदै उनले सीमावर्ती क्षेत्रमा बढ्दो भारतीय मध्यम वर्गलाई आकर्षित गर्नुपर्ने बताए।

होटल, रिसोर्ट, केबलकारजस्ता परियोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आमन्त्रण गर्दै ढकालले निजी क्षेत्र अन्तर्राष्ट्रिय साझेदारीका लागि तयार रहेको जनाए।

जेठ ११, २०८२ आइतबार १४:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।