माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

भरतपुर : चितवनको खैरहनी–१२ चिसाहनीका ४५ वर्षीय हरि अर्यालले १३ वर्षअघि पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरे। साथीभाइले माछापालनमा सफलता पाएपछि उनले पनि यही व्यावसायिक अवसर पहिचान गरी पहिलो पाइला चाले।
सुरुआती दिनहरूमा अर्यालले ठूलो कठिनाइ भोगे। ‘एक कठ्ठामा कति माछा राख्ने, कसरी पालन गर्ने थाहा थिएन, अन्धाधुन्ध माछा छरियो,’ उनले भने, ‘दुई-तीन वर्ष घाटामा बित्यो।’ त्यतिबेला माछाका भुरा बङ्गलादेशबाट लुकाइछिपाइ ल्याउने बाध्यता थियो।
सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गरे। पछि राम्रो हुँदै गएपछि उनले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाले। अहिले, चार बिघा जमिनको जलासयमा माछा छन्। उनले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्छन्। खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताए।
अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिएका छन्। उनले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ। माछापालनले अर्यालको जीवनस्तरमा उछाल ल्याएको छ। उनले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाएका छन। अब त गाडी किन्ने योजनामा छन्।
उद्योग विस्तारका क्रममा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन प्रभावकारी बनाएर चितवन, काठमाडौं, पोखरा, बुटवललगायत सहरका रिटेलर तथा होटल–रेस्टुरेन्टमा आपूर्ति भइरहेको छ। उनको योजना एग्रो–टुरिजम समावेश गरेर कागती खेती र पोल्ट्री परीक्षणपछि सुरु गरेको कागती खेतीलाई पनि आकर्षक पर्यटकीय कार्यक्रममा रूपान्तरण गर्नु रहेको छ।
माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गरेका छन्। सात पोखरीमा माछा छन्। सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उनले बताए। जग्गा भाडामा लिएर माछापालन गरेका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो। अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन्। नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ।
व्यावसायिक सफलता भन्दा पहिला सन् २००५ मा मलेसिया र २००८ मा दुबईमा गरी चार वर्ष विदेश बसेका अर्यालले ‘विदेशमा दुःख गरे भन्दा स्वदेशमै उत्पादनमुखी काम गर्न सकिन्छ’ भन्ने निष्कर्षमा पुगेर कृषिमा फर्किएको सुनाए।
‘यदि राज्यले दाना र बिजुलीमा छुट दियो भने नेपाली माछापालक किसान अगाडि बढ्न सक्छन्।’ उनले अवैध आयात नियन्त्रणका लागि कडा नीति आवश्यक रहेको बताए। माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष समेत रहेका अर्यालले सङ्घ नेतृत्वमा अवैध माछा नियन्त्रण अभियान चलाए पनि सफलता नपाएको उल्लेख गरे।
जेठ ११, २०८२ आइतबार १०:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।