‘विदेशमा दुःख गर्नुभन्दा आफ्नै देशमा रुद्राक्ष बेच्न सजिलो रहेछ’

‘विदेशमा दुःख गर्नुभन्दा आफ्नै देशमा रुद्राक्ष बेच्न सजिलो रहेछ’

धरान : धरान उपमहानगरपालिका-१४ का सन्तोष लामिछाने अहिले रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। धरानको पिण्डेश्वरी मन्दिर परिसरमै उनले विगत पाँच वर्षदेखि रुद्राक्षबाट बनेका सामग्री बेच्दै आएका छन्।

१२ वर्ष भारत बसेर फर्किएका लामिछानेले विदेशको दुःख त्यागेर आफ्नै देशमा केही गर्ने सोच बनाए। अनि सुरु गरे रुद्राक्षको माला बनाउने काम। उनले भने, ‘विदेशमा दुःख गर्नुभन्दा यहीँ बसेर रुद्राक्षका सामान बनाएर बेच्न सजिलो र आम्दानी पनि राम्रै हुन्छ।’

रुद्राक्षका सामग्री बनाउने कच्चा पदार्थ उनी धनकुटा, पाँचथर, भोजपुरजस्ता पहाडी जिल्लाबाट ल्याउँछन्। त्यसपछि माला, झोला, ढाकी, ज्याकेटजस्ता वस्तु बनाएर बजारमा पठाउँछन्। उनका अनुसार मासिक रु २० हजारदेखि ३० हजारसम्म आम्दानी हुन्छ, जुन घर खर्च चलाउन पर्याप्त छ।

‘दैनिक १–२ वटा सामान मात्र बिके पनि घरखर्च टार्न पुग्छ, पैसा पनि हातमा आउँछ,’ उनले भने, ‘थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि मिल्छ।’

लामिछानेले बनाएका सामग्री धरान मात्र होइन, सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा र नेपाल घुम्न आएका विदेशी पर्यटकबीच पनि लोकप्रिय छन्। ‘विदेशीहरू खासगरी रुद्राक्षका झोला धेरै मन पराउँछन्,’ उनले सुनाए।

ग्राहकको मागअनुसार फरक-फरक डिजाइनमा सामग्री बनाउने उनले माला रु २०-५०, ढाकी रु ३००-५००, झोला रु १,५००-३,००० र ज्याकेट रु ५,०००-५,५०० मा बिक्री गर्छन्। ढाकी मात्रै पनि दैनिक पाँच-सात वटा बिक्ने गरेको उनी बताउँछन्।


‘अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा लाग्ने बोलबम मेलामा त व्यापार झनै राम्रै हुन्छ,’ उनले भने। पहिला तीन जना कामदार राखेर उत्पादन गरिरहेका लामिछाने अहिले एक जना सहयोगीसँगै सामग्री बनाउने र बेच्ने काम गरिरहेका छन्।

रुद्राक्ष स्थानीय स्तरमै सजिलै नपाइने भएकाले उनले धनकुटा र भोजपुरजस्ता ठाउँमा पुगेर बोटै ठेक्का लिएर रुद्राक्ष ल्याउने गर्छन्। ‘एक बोटको मूल्य रु एक लाखदेखि १.५ लाखसम्म पर्छ,’ उनले जानकारी दिए, ‘बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा खासै समस्या हुँदैन, अर्डर पनि राम्रो आउँछ।’

उनका अनुसार, रुद्राक्ष प्रायः हरियो पात भएका, लामा हाँगामा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्छ। “१ देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन्,’ उनी भन्छन्, ‘तर १ मुखी र ९ देखि १४ मुखीसम्मका भने निकै दुर्लभ मानिन्छन्।’
धार्मिक मान्यताअनुसार, रुद्राक्ष महादेवको प्रिय वनस्पति हो, र पहाडी गाउँघरमा यसलाई ‘दाना’ भनेर चिनिन्छ।

जेठ ११, २०८२ आइतबार १०:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।