जापानबाट फर्किइन् परराष्ट्रमन्त्री राणा, भ्रमण उपलब्धिमूलक भएको दाबी

जापानबाट फर्किइन् परराष्ट्रमन्त्री राणा, भ्रमण उपलब्धिमूलक भएको दाबी

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक भएको दाबी गरेकी छन्।

गत सोमबार जापान गएकी मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन। फर्किएपछि उनले भ्रमणको क्रममा जापानका विदेशमन्त्री लगायत विभिन्न उच्चस्तरीय नेताहरूसँग महत्वपूर्ण भेटवार्ता भएको जानकारी दिइन्। साथै नेपाल–जापानबीचको सहयोग, साझेदारी र परियोजनाहरूका बारेमा समेत विस्तृत छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

'नेपाल–जापान सम्बन्धका विविध पक्षबारे कुराकानी भयो। जापानले नेपालमा गरेका सहयोग, विशेष गरी परियोजना कार्यान्वयनमा, बारेमा कुरा गर्ने मौका मिल्यो। साथै टोकियोमा भएको ज्येष्ठ नागरिकसम्बन्धी सम्मेलनमा पनि सहभागी भइ अन्य मुलुकको नीति र व्यवस्था बुझ्ने अवसर पाइयो,' मन्त्री राणाले भनिन्।

भ्रमणको क्रममा जेठ ८ गते मन्त्री राणाले टोकियोमा जापानका विदेशमन्त्री इवाया ताकेसीसँग द्विपक्षीय भेट गरेकी थिइन्। सो अवसरमा दुई देशबीचको आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो।

त्यसको भोलिपल्ट, जेठ ९ गते, उहाँले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेट भएको थियो। मन्त्री राणाले जाइका मार्फत नेपाललाई लामो समयदेखि दिइएको सहयोगप्रति धन्यवाद दिँदै वर्तमान र भविष्यका परियोजनाबारे छलफल गरेकी थिइन्।

जापान भ्रमणकै क्रममा उनीसँग जापानकी उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेट गरे।

ज्येष्ठ नागरिकसम्बन्धी सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै मन्त्री राणाले सम्बोधनसमेत गरेकी थिइन्। स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

जेठ ११, २०८२ आइतबार ०८:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।