दोहोरो मापदण्डको राजनीति: गृहमन्त्री लेखकको फरक स्वर, फरक तर्क

काठमाडौं : रवि लामिछाने गृहमन्त्री थिए। त्यही बेलामा सहकारीहरुको रकम अपचलनमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेसले दबाब बढाइरहेको थियो। पार्टीको प्रमुख सचेतकको रुपमा रमेश लेखककले प्रतिनिधि सभाको बैठकमा कुनै मन्त्रीमाथि प्रश्न उठेमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने माग गरेका थिए।
त्यो बेलामा तत्कालीन गृहमन्त्री लामिछानेसहितका सांसदहरूले कुनै मन्त्रीमाथि प्रश्न उठ्नासाथ संसदीय छानबिन समिति बनिहाल्ने पद्धति बसाल्न खोजेको हो भनेर प्रश्न गरेका थिए। तर कांग्रेसले निरन्तर माग कायम राख्यो। संसदीय समिति समेत बन्यो। रविले राजीनामा दिनै परेन, गठबन्धनै बदलियो।
अहिले उनै लेखक गृहमन्त्री छन्। भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गम्भीर अपराधमा संलग्न समूहबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सहित चार जना अनुसन्धानको दायरामा छन्। अख्तियारले गृह प्रशासनका अन्य कर्मचारी र यो गिरोहमा संलग्नताबारे गृहमन्त्रीको सचिवालयका केही कर्मचारीमाथि समेत छानबिन शुरु गरेको छ।
गृहमन्त्रीको सचिवालय नै विवादमा तानिएपछि गृहमन्त्री लेखक समेत दबाबमा आएका छन्। उनकै दलका नेता शेखर कोइरालाले नै नैतिकताको आधारमा राजिनामा दिन सुझाव दिइसकेका छन्। जव आफूमाथि प्रश्न उठ्यो अनि उनै लेखक अहिले कुनै कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाल्न सम्भव छ भन्ने प्रश्न गर्न थालेका छन्।
भट्टराईलाई विमानस्थलमा उनै लेखकले सरुवा गराएका थिए भने अख्तियार गोप्य अनुसन्धानमा रहेकै बेलामा सूचना चुहिएपछि उनले भट्टराईलाई रातारात मन्त्रालयमा सरुवा गराएका थिए। एकाएक भट्टराईको सरुवाको कारण भोलिपल्ट अख्तियारले कार्यालयमा छापा मारेर भट्टराईलाई नियन्त्रणमा लिएपछि मात्रै खुल्यो। भट्टराईको रातारात किन सरुवा गरेको हो? त्यसको कारण मन्त्री लेखकले अहिलेसम्म खुलाएका छैनन्। शनिबार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पनि यसबारे केही उल्लेख छैन।
सङ्गठित रूपमा भइरहेको सो अपराधमा लेखक जोडिएपछि राजीनामा दिन दबाब बढ्दै गएपछि शनिवारै गृहले विज्ञप्ति निकालेर कुनै पनि अनियमिततामा मन्त्रालयको नेतृत्व संलग्न नरहेको मात्र हैन यस्तोमा गृह नेतृत्व संलग्न नहुनेसम्मको दाबी गर्यो जवकी बालकृष्ण खाणसहितको गृहसचिवसमेत रहेका ब्यक्ती नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालती प्रक्रियामा छन्।
काठमाडौँ उपत्यका बाहिर रहेका मन्त्री लेखक शनिवार काठमाडौँ फर्किएर हतारमा केही सञ्चारकर्मीलाई मन्त्रालयमा बोलाएर उल्टो ‘कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो?, के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ?’ भन्ने प्रश्न तेर्स्याए। अनि गम्भिर अपराधलाई लगेर राजनीतिक शड्यन्त्रमा जोडे।
उनले आफू विरुद्ध राजनीतिक रूपले नियोजित रूपले षडयन्त्रमूलक ढङ्गले झुटा प्रचारबाजी भइरहेको दाबी गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए पदबाट मात्र नभई राजनीतिबाट समेत राजीनामा दिने दाबी समेत गरे।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित कसैले गर्यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु।”
उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको समेत बताए।
दलितसँगको अन्तर्जातिय विवाहलाई भाँड्न प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दा समेत लेखकले प्रतिनिधी सभामा यस्तै भावुक भाषण गरेका थिए। तर उनले सो घटनामा प्रहरीको दुरुपयोग भएको हो या हैन भन्नेबारे कुनै छानबिनै गराएनन् जवकी सो घटनामा जोडिएका प्रहरी कर्मचारीको नाम समेत सार्वजनिक भएको थियो।
प्रहरीको सरुवा र बढुवाको पारदर्शिताबारे लेखक प्रश्नको घेरामै छन्। चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनमा प्रहरीको तर्फबाट भएको अधिक बल प्रयोग र सुरक्षा चुकको घटनाबारे न्यायीक छानबिनको माग हुँदा समेत लेखकले यसलाई व्यवस्थाविरोधी घटना भन्दै त्यतिकै टारेका थिए।
जेठ १०, २०८२ शनिबार २३:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।