पर्वतका मल्लले टेके पाँचौँ पटक सगरमाथाको चुचुरो

पर्वत : जिल्लाको जलजला गाउँपालिका-३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गरेका छन्। उनी सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए।
इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका थिए। मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उनले बताए।
“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भने। आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उनले जानकारी दिए।
हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताए। हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उनले बताए।
म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहेका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताए। उनले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय हुने उल्लेख गरे। उनले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिए।
जेठ १०, २०८२ शनिबार २२:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।