गृहमन्त्री लेखकलाई रास्वपाले भन्यो- ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेको छ।
गृहमन्त्रीको सचिवालयमार्फत 'भिजिट भिसा' को नाममा मानव तस्करी भइरहेको भन्ने आरोप सार्वजनिक भएपछि रास्वपाले कडा असन्तुष्टि जनाएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा दुई ठूला दलको १० महिने गठबन्धन सरकारले सुशासनको धज्जी उडाएको र संवैधानिक निकायहरूलाई दलीयकरण गरिरहेको आरोप लगाइएको छ। ‘काम गर्नेहरूलाई लखेट्ने र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यासमा सरकार लागिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तिमा गृहमन्त्री लेखकलाई विगतमा संसदमै आफैंले भनेको कुरा सम्झाउँदै अहिलेको परिस्थिति पनि त्यही भएको दाबी गरिएको छ। ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने उहाँकै भनाइ थियो, आज त्यो कुरा उहाँलाई नै स्मरण गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले लेखकले राजीनामा नदिए सो मुद्दालाई लिएर संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ। रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार दिउँसो ४ बजेको बसेको थियो।
जेठ १०, २०८२ शनिबार २०:५३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।