खर्बुजा खोज्दै खेतैमा ग्राहक, मक्खै तीन ठिटा किसान

खर्बुजा खोज्दै खेतैमा ग्राहक, मक्खै तीन ठिटा किसान

पोखरा : जेठको टन्टलापुर घामबाट बच्न खेतको छेउमा टेन्ट छ अनि टेन्टमा तीन युवा। खोला छेउको खेतभरि खर्बुजाले भरिएका छन्। उनीहरू खेतमा खर्बुजाको पारखीको प्रतीक्षामा छन्। दिनमा मात्रै हैन, रातमा पनि तीन जनामध्ये कोही न कोही खर्बुजा रुँग्न बसेकै हुन्छन्। राति पालैपालो खाना खान जान्छन् अनि खर्बुजा रुँग्न टेन्टमै फर्किन्छन्।

वर्षको एक बाली धान खेती गरेर बाँकी समय बाँझो रहने कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ मा रहेको बयरघारीको पर्ती खेतमा तीन जना गुरुङ युवाले पहिलो पटक खर्बुजा फलाएका हुन्। गत वर्ष पोखरा महानगरको विभिन्न वडामा खर्बुजा खेती हुने खबरले हौसिएका उनीहरूले आफ्नै भूगोलमा फलाउन सफल भए।

तीन युवा हुन् साजन गुरुङ, मिथुन गुरुङ र कर्म गुरुङ। उनीहरूले संयुक्त लगानीमा ’सरस्वती’ र ’स्वीट हनी’ प्रजातिको खर्बुजा बिउ गत मध्य माघमा रोपेका थिए। एक महिनापछि फागुनमा बेर्ना तयार भयो। तर फल्ने, नफल्ने एकिन थिएन। फले पनि कस्तो फल्ला! चासो हुने नै भयो। यो उनीहरुको पहिलो अनुभव जो थियो।

उनीहरूले खेतमा बेर्ना सारे। खर्बुजा सर्यो पनि। अनि फल्न पनि थाल्यो। ६५ दिनमा फल पूर्ण आकारमा आयो। चाख्दा मिठो स्वाद आयो। अनि बिस्तारै ग्राहकहरू खेतमै आउन थाले।   गाउँपालिका भए पनि पोखरा वडा नम्बर १३ सँग खोलाको सिमानाले छुट्टिएको उक्त स्थान पुग्न सहजै भएकाले खर्बुजा प्रेमीहरू खेतमै पुग्छन्। आफैले टिप्छन् अनि रमाउँदै खर्बुजाको स्वाद लिन्छन्।

“पहिला उपभोक्ताले धित मरुन्जेल हेर्दै फोटो खिच्छन्, त्यस पछि चाख्न दिन्छु अनि आफै टिप्न पनि पाउँछन्” कर्म गुरुङले भने।

बारीबाटै उनीहरूले प्रतिकेजी ५० रुपैयाँमा खर्बुजा बेचिरहेका छन्। उनीहरूले अहिलेसम्म १ हजार ५ किलो बेचिसकेका छन्। बीउ, मल्चीङ प्लास्टिक, ज्यालादारी मजदुर गरेर १ लाख ४५ खर्च भएको थियो। खर्बुजा बिक्री सुरु भएको १५ दिनमा नै उनीहरूले रु ७५ हजार आम्दानी गरिसकेका छन्।

अहिले ’सरस्वती’ प्रजातिको खर्बुजा बिक्री गरिरहेका छन् उनीहरूले। ’स्वीट हनी’ प्रजातिको खर्बुजा पाक्न अझै १५ लाग्ने कर्माले बताए। हल्का हरियो रङको हुने ’सरस्वती’ खर्बुजा अहिलेसम्म सबै भन्दा ठूलो ४ केजी ८ सय ग्रामको टिपेको र गाढा हरियो रङको ’स्वीट हनी’ त्यो भन्दा दुई गुणा बढी तौलमा पाक्ने अवस्थामा देखिए।

पोखरा महानगरले बिउ र मल्चीङ प्लास्टिकमा सहयोग गरेको छ भने ब्रान्डिङको लागि स्टिकर तयार गरेर वडा नम्बर १३, २३, ३२ र ३३ मा उत्पादित खर्बुजाको बजारीकरण गरे पनि महानगर बाहिर पर्ने मादी गाउँको यो खेतमा भने पोखरादेखि उपभोक्ताहरू आफै किन्न आइरहेका छन्।

खेतमै आफैँले खर्बुजा टिपेर खान पाउँदा उपभोक्ता मक्ख छन्। तीन किसान ठिटाहरू पनि खेतमै व्यापार हुँदा मक्ख देखिए।

जेठ १०, २०८२ शनिबार १८:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।