स्थिरता र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प छैन : अध्यक्ष दाहाल

स्थिरता र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प छैन : अध्यक्ष दाहाल

कास्की : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थिरता र समृद्धिका लागि अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन्।

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा कायम गणतन्त्र र अहिलेको निर्वाचन प्रणालीबीच विसङ्गति रहेको उल्लेख गर्दै कार्यकारी राष्ट्रपतिको अवधारणा जनतामाझ स्पष्ट रूपमा लैजान जरुरी भएको बताए।

‘संविधानसभाको समयमा नै यो प्रणालीले स्थायित्व र समृद्धि दिन सक्दैन भनेका थियौँ,’ दाहालले भने, ‘त्यसबेला हाम्रो अडान संविधान निर्माणमा अवरोध बन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’ लेखेर पछि हटेका थियौँ। तर अहिले त्यो अडान जनतासँग साझा गर्ने समय आएको छ।’

अध्यक्ष दाहालले हालको शासकीय प्रणालीले अपेक्षित नतिजा दिन नसकेकाले माओवादी केन्द्रले अबको एजेन्डा कार्यकारी राष्ट्रपतिमा केन्द्रित गर्दै आम जनतालाई प्रशिक्षण र परिचालन गर्ने अभियान अघि सारेको बताए।

आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो शक्तिका रूपमा उभिने दाबी गर्दै दाहालले भने, ‘देशको स्थायित्व र सुशासनको एजेन्डा माओवादीकै हो। त्यसैले अबको रूपान्तरणको अभियान नेतृत्वले सुरु गरिसकेको छ, सबैले आत्मसमीक्षा गरेर साथ दिनुपर्छ।’

जेठ १०, २०८२ शनिबार १८:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।