मानव तस्करीबारे गृहको दाबी ‘मन्त्रालयको नेतृत्वको संलग्नता छैन

मानव तस्करीबारे गृहको दाबी ‘मन्त्रालयको नेतृत्वको संलग्नता छैन

काठमाडौं : भिजिट भिसाको आवरणमा गृह प्रशासनबाटै मानव तस्करी भइरहेको घटना सार्वजनिक भएसँगै पार्टीकै नेताबाट नैतिकताको आधारमा राजीनामा मागिएपछि गृहमन्त्री रमेश लेखकले ‘दुई चार दिनमै यसबारे बोल्ने’ सार्वजनिक अभिव्यक्ति दिएकै दिन गृह मन्त्रालयले विज्ञप्ति निकालेर गृह नेतृत्व ‘कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको र नरहने दाबी गरेको छ।

लेखकले शनिवारै आज शनिवार मन्त्रालयले यसबारेमा विज्ञप्ति निकाल्ने र आफूले यसबारे दुई-चार दिनपछि बोल्ने बताएका थिए। त्रिभुवन विमानस्थलका प्रमुख नै मानव तस्करीमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएपछि गृह प्रशासन, गृह मन्त्रीको सचिवालय र गृहमन्त्री लेखककै भूमिकामाथि प्रश्न उठेको थियो।

मन्त्रालयले निकालेको विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचार एवम् क्रिया प्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ’ विज्ञप्तिमा दाबी गरिएको छ।

विज्ञप्तिमा मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको र मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको उल्लेख छ।

‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य ब्यहोरा सबैको जानकारीमा आउने नै छ,’ विज्ञप्तिमा भनिएको छ ‘आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ।’

शनिवार गृहमन्त्री लेखकले आफू दुई तिन दिन चुपो लागेर बसेको र कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहेको भन्दै ‘धेरै कुरा थाहा पाइसकेको’ दाबी गरेका थिए। शनिवारै कांग्रेस नेता शेखर कोइरालाले लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए।

जेठ १०, २०८२ शनिबार १८:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।